१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै

उयदपुरकाे पर्यटकीय, धार्मिक तथा ऐतिहासिक रौता पोखरी। तस्बिर : नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुर आउने कार्यक्रम छ। उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उनी यहाँ आउन लागेको बताइएको छ।

उदयपुर भ्रमणका क्रममा प्रधानमन्त्रीले पछिल्लो समय आर्थिक अभावले टाट पल्टेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको निरीक्षण गर्नेछन्। त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको उद्योगको उत्पादन प्लान्ट निरीक्षणपछि उनी जिल्लाको रौतामाई गाउँपालिका केन्द्र भुट्टार पुगेर नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्ने कार्यक्रम छ।

प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार प्रधामन्त्रीले उद्घाटन गर्ने नवनिर्मित भवन रौतामाई गाउँपालिकाले तीन वर्षअघि निर्माण थालेर भर्खरै सम्पन्न भएको हो। उनका अनुसार ०७७ असोज ११ मा भएको ठेक्का सम्झौताअनुसार रौताहा÷धुलिखेल÷सुसम÷आदित्य जेवीले सो भवन निर्माण गरेको हो।

तोकिएकै मितिमा निर्माण सम्पन्न भएको भवनमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष, आवास, विषयगत शाखा, बैठककक्षलगायत ४० वटा कोठा रहेको हाकिम बस्नेतले बताए।

लेखा अधिकृत भुपध्वज रायमाझीले भवन निर्माणमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित सात करोड ८७ लाख रुपैयाँ खर्च भएको बताएका छन्। साढे चारतले अपांगमैत्री, विद्युतीय भर्‍याङ (लिफ्ट) जडित तथा प्रत्येक तलामा पुरुष महिला अलग शौचालय, खानेपानी सुविधासहितको भवन गाउँपालिकाको आफ्नै जमिनमा निर्माण भएको रायमाझीले बताए।

गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले हेलिकोपटरमार्फत कार्यक्रमस्थल आउने प्रधानमन्त्री  दाहाल भवन उद्घाटनपछि गाईघाट फर्कने क्रममा रौतामाई गाउँपालिका ६ स्थित उयदपुरकै महत्वपूर्ण पर्यटकीय, धार्मिक तथा ऐतिहासिक रौता पोखरीको अवलोकन गराउने बताए। सदरमुकाम गाईघाटदेखि ४८ किलोमिटर उत्तरमा रहेको रौता पोखरी उदयपुरको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल हो।

‘हामी प्रधानमन्त्रीज्युलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रौता पाखेरी पनि भ्रमण गराउने प्रयास गर्दैछौं’, अध्यक्ष गमरले भने, ‘तर समय कत्तिको व्यवस्थापन गर्न सकिन्छ, उहाँको व्यस्तता कति छ, त्यसमा भर पर्छ।’ बाह्रैमास पानी जमिरहने सुन्दर पोखरी, वरिपरि जंगल र बुट्यानले घेरिएको यो ठाउँ समुद्री सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा अवस्थित छ।

त्यससँगै प्रधानमन्त्रीले त्रियुगा नगरपालिका १६ सिँधालीमा रहेको उसिउलिको चुनढुंगा खानीको पनि अवलोकन गर्नेछन्। सिँधालीमा दैनिक आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दा पनि दुई सय वर्षसम्म पुग्ने चुनढुंगा खानी छ। उद्योग सुरु हुनुअगावै जापानले पत्ता लगाएको यो चुनढुंगा दक्षिण एसियाकै सबभन्दा गुणस्तरीय सिमेन्ट उत्पादन हुने कच्चा पदार्थ हो।

जापान सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भई ०४६ सालदेखि व्यावसायिक उत्पादन थालेको उसिउलि व्यवस्थापकीय कमजोरीका कारण हाल धराशायी भइसकेको छ। पछिल्लो एक वर्षयता कोइला अभाव र मेसिन उपकरण मर्मत गर्ने खर्चसम्म नहुँदा उद्योग लगभग बन्दको अवस्थामा पुगेको छ।

लगभग चार सय हाराहारी कर्मचारी कार्यरत रहेको सरकारी स्वामित्वको उद्योगलाई सुचारु गर्न आर्थिक व्यवस्थापन गर्न माग गर्दै स्थानीय सरोकारवालाको समूहले पटकपटक उद्योग मन्त्रालय हुँदै प्रधानमन्त्रीलाई भेटिसकेको छ।

स्थानीयको मागपछि उद्योगमन्त्री रमेश रिजालले दुईपटक उद्योगको स्थलगत अवलोकन गरिसकेका छन्। यही बीचमा सरकारले केही दिनअघिको मन्त्रिपरिषद् बैठकबाट १७ करोड अनुदान सहयोग गर्ने निर्णयसमत गरेको सार्वजनिक भएको छ।

पछिल्लो समय देशका रुग्ण उद्योगहरू सुचारु तथा पुनःसञ्चालनमा ल्याउने सरकारी नीति कार्यान्वयन गर्न पनि प्रधानमन्त्री दाहाल उसिउलिको निरीक्षणमा आउन लागेको उनको सचिवालयले जनाएको छ। सरकारले रघुपति जुटमिल, गोरखकाली टायर, वीरगञ्ज चिनी कारखाना र हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ।

प्रकाशित: १८ माघ २०८० ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App