१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आन्दोलनको अलमलमा अजेन्डाविहीन एमाले

सरकारमा नरहेको तर गठबन्धन भत्काउने कोसिसमा रहेको प्रमुख विपक्षी दल एमालेले दुई सातादेखि आन्दोलनको तयारी गरेको भने पनि थालिहाल्न सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले नै माघको पहिलो साता आन्दोलनको तयारी थाल्न जनसंगठनका नेताहरूलाई निर्देशन दिएका थिए। तर आन्दोलनको सुरुवातका लागि कुनै अजेन्डा भने तय भइसकेको छैन।

मंसिरमा मध्यपहाडी संकल्प यात्रा गरेर काठमाडौं फर्केको एमालेले सरकारलाई त्यहाँ देखिएका ७५१ वटा समस्याको सँगालो पनि बुझाइसकेको छ। आगामी बजेटमा त्यहाँका समस्या समाधान गर्नुपर्ने एमालेको माग छ। एमालेले पहिलो प्राथमिकता सत्ता गठबन्धन भत्काउनुलाई बनाएको छ। तर तत्कालै गठबन्धन भत्कने अवस्था नदेखेपछि मध्यपहाडका समस्यालाई अघि सारिएको हो। यसले कुन विषयमा टेकेर आन्दोलन गर्ने भन्नेमा एमाले अलमलमा रहेको अवस्था देखाउँछ। आन्दोलनको निर्देशन दिने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि आन्दोलनको विषय यही हो भनेर यकिनका साथ भनेका छैनन्। पार्टीको सचिवालय वा अन्य कुनै बैठकबाट आन्दोलनको खास अजेन्डा तय भइसकेको स्थिति पनि छैन।

पछिल्लो समय एमाल अध्यक्ष ओलीले मात्र नभएर महासचिव पोखरेलले पनि आन्दोलनको भाषा भने बोलिरहेका छन्। राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा रहेका दलहरूबीच समस्या आएको र उनीहरूले आरोप–प्रत्यरोप गरिरहेको अवस्थालाई पनि एमालेले नजिकबाट नियालिरहेको छ।

‘अहिले गठबन्धन दलहरूमा समस्या छ। उनीहरू एकले अर्कालाई अरोपित गरिरहेका छन्। एउटा दल गठबन्धनबाट बाहिरिएको छ,’ एमाले प्रचार विभाग प्रमुखसमेत रहेका पोलिटब्युरो सदस्य राजेन्द्र गौतमले भने। उनका अनुसार अहिले आवश्यक परे जुनसुकै अवस्थामा आन्दोलन गर्ने तयारीमा छ। ‘अहिले आन्दोलनको वार्मअप मात्रै हो, कुनै अजेन्डा तय भइसकेको छैन,’ उनले भने।

गत साता एमाले अध्यक्ष ओलीले माघ ४ मा खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने संकेत गर्दै तयारी हालतमा रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए। त्यसअघि महासचिव पोखरेल मात्रै आन्दोलन गर्ने बताउँदै आएकोमा माघ ४ मा ओलीले नै सो निर्देशन दिएपछि साँच्चै आन्दोलन हुने हो कि भन्ने आभास पार्टीजनले गरेका थिए।

‘देश अप्ठ्यारो स्थितिमा छ। सबैतिरबाट देश जोगाउनुपर्ने अवस्था छ । यस्तै भइरहे हामीले मिसन ०८४ भनेर पर्खन नसक्ने स्थिति आउन सक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ०८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ! उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ तर लोभीपापीहरू नभत्किन सक्छन्,’ ओलीले सो कार्यक्रममा भनेका थिए, ‘यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ। यी एकै भ्रष्टाचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन्। त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ।’

एमालेले आन्दोलनको तयारी थालेसँगै अजेन्डाको खोजी हुन थालेको थियो तर अझै तय भइसकेको छैन। ‘अब बस्ने सचिवालय बैठकबाट आन्दोलनको अजेन्डा तय हुन्छ। त्यो अजेन्डालाई केन्द्रीय कमिटीले पास गरेपछि मात्रै आन्दोलन हुन्छ,’ प्रचार विभाग प्रमुख गौतमले भने। मध्यावधिमा जाने/नजाने विषय प्रमुख प्रतिपक्षी दल एमालेको हातमा नहुने बताउँदै उनले सरकारले त्यस्तो घोषणा गरे एमालेले स्वागत गर्ने बताए।

‘अहिलेको गठबन्धन सरकार सत्ता र फेरि पनि सत्तामै हुने अवस्था देखियो। यस्तो अवस्थामा लुछाचुँडी चले सरकार ढल्न सक्छ, गठबन्धन भत्किन सक्छ। त्यतिबेलो मिसन ०८४ भनेर हामी बस्ने अवस्था हुन्न,’ उनले भने । एमाले अध्यक्ष ओलीले मिसन २०८४ कुर्न नसकिने बताउँदै आएका बेला कांग्रेसका नेताहरूसँग पनि उनको निरन्तर सम्पर्क भइरहेको छ। गठबन्धन टुटाउन नसके मुलुकलाई मध्यवधितिर लैजाने एमालेको योजनामा कांग्रेसको संस्थापन इतर पक्षलाई समेट्ने प्रयास थालिएको एमालेका नेताहरूको दाबी छ।

अध्यक्ष ओलीले पनि जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिँदै गरेका कारण यो आशंकामा बल पुगेको छ। ‘आन्दोलनका निम्ति पार्टीले जतिबेला सिटी बजाउँछ, त्यतिबेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ। तीन दिनको छोटो तयारीमा राष्ट्रिय आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ। यो मानसिकतासाथ हामी जानुपर्छ,’ ओलीले कार्यकतालाई निर्देशन दिँदै माघ ४ मा भनेका थिए। जसले गर्दा एमालेका जनसंगठनहरूले पनि आन्दोलनको पूर्वाभ्यास गरिरहेका छन्। 

एमालेको सक्रिय जनवर्गीय संगठन युवा संघले आवश्यक परे जतिसुकै बेला आन्दोलनका लागि तयारी अवस्थामा रहेको जनाएको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेले पार्टी आह्वान गरेका बखत युवा संघ तयारी अवस्थामा रहेको बताए। 

प्रकाशित: १६ माघ २०८० ००:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App