२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

महामन्त्रीबाट सभापति बन्नै सकस

नेपाली कांग्रेस स्थापनाको ७८ वर्षमा २६ जना महामन्त्री भएका छन्। उनीहरूमध्ये तीनजना मात्र कांग्रेसको सर्वोच्च पद सभापतिको जिम्मेवारीमा पुगेका छन्।

नेपाल प्रजातन्त्र कांग्रेसमा सभापति रहेका महेन्द्रविक्रम शाहले नेपाली राष्ट्रिय कांग्रेससँग एकता भएपछि महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता भएपछि नयाँ पार्टीको नाम नेपाली कांग्रेस राखिएको हो।

२००३ कात्तिक १५ गते बनारसमा आयोजित सम्मेलनबाट महामन्त्रीको जिम्मेवारीमा पुगेका कृष्णप्रसाद उपाध्याय भट्टराई २०३४ कात्तिकमा कार्यवाहक सभापति हुँदै २०४८ सालमा आठौं महाधिवेशनबाट सभापति भएका थिए। २०३४ सालमै कांग्रेस महामन्त्री भएका गिरिजाप्रसाद कोइराला २०५३ सालमा नवौं महाधिवेशनबाट पार्टी सभापति बने। त्यसपछि उनी जीवनभरि नै सभापतिको जिम्मेवारीमा रहे। उनको २०६६ चैत ७ गते निधन भएको थियो।

गिरिजाप्रसादपछि कांग्रेसको नेतृत्व सुशील कोइरालाको काँधमा पुग्यो। गिरिजाप्रसाद सभापति हुँदा महामन्त्री भएका सुशील उपसभापति, कार्यवाहक सभापति हुँदै २०६७ असोजमा महाधिवेशनबाट सभापतिको जिम्मेवारीमा पुगेका थिए। अहिलेसम्म भट्टराई र कोइरालाद्वयबाहेक अन्य महामन्त्री सभापति बन्न सकेका छैनन्। पछिल्लो महाधिवेशनबाट कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका नेताहरू नेतृत्वमा पुग्ने कसरतमा छन्।

कांग्रेसमा अहिलेसम्म कृष्णप्रसाद उपाध्याय भट्टराई, बालचन्द्र शर्मा, महेन्द्रविक्रम शाह, धनमानसिंह परियार, राजेश्वरीप्रसाद उपाध्याय, विश्वबन्धु थापा, तुलसी गिरी, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, श्रीभद्र शर्मा, गिरिजाप्रसाद कोइराला, पर्शुनारायण चौधरी, महेन्द्रनारायण निधि, सुशील कोइराला, तारानाथ रानाभाट, खुमबहादुर खड्का, रामचन्द्र पौडेल, कुलबहादुर गुरुङ, रामवरण यादव, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्णबहादुर खड्का, गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीको जिम्मेवारीमा पुगेका छन्। गगनकुमार र विश्वप्रकाश दुई वर्षअघि सम्पन्न महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन्।

२०४६ सालको राजनीतिक परिवर्तनअघि कांग्रेस महामन्त्रीको जिम्मेवारी सम्हालेका कृष्णप्रसाद र गिरिजाप्रसाद दुवै पार्टी सभापति र प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।

प्रजातन्त्र पुनःस्थापनापछि अन्तरिम सरकारको नेतृत्व गर्दै तोकिएको समयभित्र संविधान निर्माण गरेर भट्टराई आमनिर्वाचन गराउन सफल भए। देशमा संसदीय प्रजातन्त्रलाई स्थापित र अघि बढाउन उनको महत्वपूर्ण भूमिका रहेको थियो। गणेशमान सिंहले प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि स्वीकार गरेनन्।

तुलसी गिरी, पर्शुनारायण चौधरीसहितका केही पदकै लागि कांग्रेसमा छिरे भने पदकै लागि दरबार पसे। कृष्णप्रसादपछि पार्टी नेतृत्वमा लामो समय गिरिजाप्रसाद बसे। पटकपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गिरिजाप्रसाद विवादमा पनि परिरहे। 

पार्टी र सरकारबीचको समन्वय अभावमा संसद् विघटनदेखि पार्टी विभाजनसम्म भयो। गिरिजाप्रसादकै सक्रियतामा हिंसात्मक आन्दोलनमा रहेको माओवादी शान्ति प्रक्रियामा आयो, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।

गिरिजाप्रसादपछि सुशील कांग्रेस सभापति बने। पार्टी र सरकारमा उनले नेतृत्व गरेका बेला २०७२ सालमा संविधानसभाबाट संविधान जारी भयो। सुशीलको निधनपछि रामचन्द्र पौडेल कांग्रेसको कार्यवाहक सभापति बने पनि सभापति हुन सकेनन्।

अहिले उनी राष्ट्रपतिको जिम्मेवारीमा छन्। रामवरण यादव पनि महामन्त्री हुँदाहुँदै राष्ट्रपतिको जिम्मेवारीमा पुगेका थिए। महामन्त्री भएका तारानाथ रानाभाटले सभामुखको जिम्मेवारी सम्हाल्ने अवसर पनि पाए। दरबार हत्याकाण्ड छानबिन प्रतिवेदन सार्वजनिकसँगै विवादमा तानिएका उनी त्यसपछि कांग्रेस राजनीतिमा पछि परेका छन्।

पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला अहिले पनि पार्टी सभापति पदका आकांक्षी छन्। पूर्वमहामन्त्री कुलबहादुर गुरुङ उमेरका कारण अहिले पार्टी राजनीतिमा त्यति सक्रिय छैनन्। सिंह, निधि र सिटौला कांग्रेसमा सक्रिय छन्।

पछिल्ला दुई आमनिर्वाचनमा पराजित भएपछि सत्ता राजनीतिमा बाहिर परेका सिटौला माघ ११ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। अब उनी पार्टी र सत्ता राजनीतिमा थप शक्तिशाली बन्ने रणनीतिमा छन्। शशांकले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्।

पूर्णबहादुर खड्का उपसभापति छन्। उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले आफूलाई सभापति शेरबहादुर देउवाको उत्ताराधिकारीका रूपमा प्रस्तुत गर्दै आएका छन्।

वर्तमान महामन्त्री गगननकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी नेतृत्वमा पुग्ने कसरतमा अहिलेदेखि नै लागिपरेका छन्। महामन्त्री भएका धेरै सभापति बन्न नसकेको विगत छ।

प्रकाशित: १५ माघ २०८० ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App