१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

तुइनमैत्री प्रदेश निर्माणका लागि सहयोग गर्नुहोस्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमा घोषणा गरेको तुइनमैत्री प्रदेश निर्माणका लागि सहयोग गर्न इन्जिनियरहरूलाई आग्रह गरेका छन्।

शनिबार विराटनगरमा नेपाल इञ्जिनियर एसोसिएसन कोशी प्रदेशको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तुइनमैत्री प्रदेश निर्माणमा सहयोग गर्न इन्जिनियरहरूलाई आग्रह गरेका हुन्।

‘कोशी प्रदेशमा भएका तुइनहरूलाई व्यवस्थित बनाउने काममा इन्जिनियरको सिप र क्षमता आवश्यक छ’, मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले अघि बढाएको काममा तपाईंहरू ज्ञान, सीप, प्रविधि र अनुभवले सहयोग गर्नुहोस्।’

मुख्यमन्त्री कार्कीले नेपाली इन्जिनियरहरूले सिद्धान्तका साथै व्यावहारिक अभ्यासबाट खोज तथा अनुसन्धान गरी  नयाँ सिद्धान्त प्रतिपादन गर्ने प्रयासमा लाग्न आवश्यक रहेको बताए।

उनले भने, ‘अर्काको सिद्धान्त रट्ने मात्रै नभई आफ्नो अनुभवले नयाँ सिद्धान्त प्रतिपादन गरेर संसारलाई केही दिन पनि आवश्यक छ।’ उनले घर, पुल र कम्प्युटरलगायत जनताका दैनिकीमा प्रभाव पार्ने प्रविधिसमेत इन्जिनियरहरूले नै निर्माण गर्ने बताए। उनले आधुनिक युगमा मानिसको दैनिकी नै इन्जिनियरका हातमा रहेका कारण इन्जिनियरहरूलाई जिम्मेवार बन्न कार्कीले आग्रह गरे।

कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्न आवश्यक रहेको कार्कीले बताए। उनले इन्जिनियरहरूको प्रयोगात्मक क्षमता अभिवृद्धि र अनुसन्धानका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकारसमेत तयार रहेको स्पष्ट पारे।

हावा र फ्रोस्रा कुरामा लाइक र कमेन्ट गरेर समय बिताउनुभन्दा प्रदेश कसरी बन्छ, प्रविधिमा कसरी यो प्रदेश अघि बढ्छ भन्ने विषयमा इञ्जिनियरलगायतका प्राविधिकहरूले सोच्ने बेला आएको कार्कीले बताए।  

नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका अध्यक्ष जयन्त यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने कोशी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जगेवुसहित एसोसियसनका पूर्वअध्यक्षहरूलाई सम्मानपत्रले सम्मानित गरिएको थियो।

प्रकाशित: १४ माघ २०८० ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App