४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नगरपालिका ‘मिनी’ सिंहदरबार जस्तो बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल(रासस)- प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताएका छन्।
बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज बुटवलमा सम्बोधन गर्दै उनले स्थानीय तहलाई सेवा केन्द्रका रुपमा विकास गर्दै नयाँ मापदण्डसहितको ‘मिनी’ सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपर्ने बताए।
मुख्यमन्त्री पोखरेलले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामलाई चुस्त र आधुनिक बनाउनुपर्नेमा जोड दिए।
बुटवल ऐतिहासिक, प्रचुर सम्भावनायुक्त र मुलुककै प्रमुख केन्द्रका रुपमा रहेको उल्लेख गर्दै उनले यसलाई योजनाबद्ध रुपमा अझ व्यवस्थित र आधुनिकतासहितको ‘स्मार्ट सिटी’ बनाउन जरुरी रहेको बताए।
“बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रुपमा छुट्टै पहिचान दिने गरी विकास गर्नुपर्ने छ,” मुख्यमन्त्रीले भने– “यसैले आधुनिक शहरका लागि प्रष्ट खाका बनाउनुहोस्।”
मुख्यमन्त्री पोखरेलले कम्तीमा आउँदो २० वर्षसम्मको अवस्थाको मूल्याँकन गर्दै योजना बनाउन सुझाव दिए।
मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा तीन वटा विशेष महानगर बनाउने खाकासमेत बनाइरहेको जानकारी दिए। यीमध्ये पहिलो र व्यवस्थित बुटवल नै बन्ने र यहाँका अरु स्थानीय तहको नेतृत्वसमेत बुटवलले गर्नुपर्ने उनको भनाइ थियो । अर्को महानगर दाङ उपत्यकामा त्यहाँका उपमहानगर र नगरपालिकाहरु समेटेर बनाउने र त्यहाँ कुनै पहिचानका काम गरिने जानकारी पनि उनले दिए। अर्को नेपालगञ्ज, कोहलपुर बर्दियासहितको विशेष महानगर बनाउने गरी अवधारणा अघि सारिएको पनि उनले बताए।
 

 

प्रकाशित: २१ फाल्गुन २०७४ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App