६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा नयाँलाई अवसर दिन काँग्रेस नेताको माग

नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्ने धारणा राखेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीमा पटक पटक अवसर पाएका र गत वर्ष (२०७९) को निर्वाचनमा पराजित नेतालाई आगामी राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनाउन नहुने तर्क गरेका हुन्।

कोसी प्रदेशबाट पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई काँग्रेसले राष्ट्रिय सभामा उम्मेदवार बनाउने निश्चित प्रयास छ। सिटौलासहित काँग्रेसले सत्ता गठबन्धनबाट भाग पाउने नौ सिटमा अघिल्लो निर्वाचनमा चुनाव हारेका र पटक पटक अवसर पाएका नेताहरूलाई नै बढी दोहो¥याउने नेताहरूको तयारी छ। त्यसको विरोध गर्दै केन्द्रीय सदस्य देवेन्द्र कँडेलले कुनै पनि तहमा चुनाव हारेकालाई उम्मेदवार बनाउन नहुने तर्क गरेका छन्। एउटा नेताले अवसर पाउने भए आफुले किन नपाउने भन्ने प्रश्न गर्दै उनले बैठकमा भनेका थिए,‘अवसर नपाएकाहरूलाई अवसर दिऔँ । मापदण्ड बनाऔँ।’

सहकारीका नाममा ठगीका कुरा आइरहेकोले त्यस विषयमा भण्डाफोर गर्नुपर्ने धारणा राख्दै केन्द्रीय सदस्य दीपक गिरीले राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा सबैलाई समेट्ने गरी मापदण्ड बनाउन माग गरेका छन्।

केन्द्रीय सदस्य डिला संग्रौलाले राष्ट्रिय सभा उम्मेदवार छनोटमा न्यायको सिद्धान्तलाई मापदण्ड बनाउन आग्रह गरे। केन्द्रीय सदस्य राजीव कोइरालाले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उमेदवार बनाउने भए आफूलाई पनि उमेदवार बनाउन माग गरेका छन्।

केन्द्रीय सदस्य नैनसिंह महरले माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको मापदण्ड बनाउनुपर्ने बताए। उनले तीनै तहका सरकार पार्टी र जनताप्रति जिम्मेवार नदेखिएको पनि आरोप लगाए। ‘अघिल्लो बैठकमा तीनै तहका सरकार गठनका लागि संयन्त्र बनाउने भनिएको थियो तर त्यो निर्णय कार्यान्वयनमा आएन,’उनले भने,‘प्रतिस्पर्धी पार्टीका बारेमा काँग्रेसले आधिकारिक दृष्टिकोण बनाउनु आवश्यक छ।’

प्रकाशित: १२ पुस २०८० १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App