२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदीय दलको नेता छान्न केन्द्रको भर

सुर्खेत – प्रदेशसभा गठनपछि ६ नम्बर प्रदेशमा एमाले संसदीय दलको दुईपटक बैठक बस्यो । तर, बैठकले आफ्नो नेता छान्न सकेन । माघ ८ गते बसेको पहिलो बैठकमा नेता छनोटसम्बन्धी अजेण्डाले प्रवेश पाएन । शनिबार बसेको बैठक पनि बिनानिस्कर्ष टुंगियो । बैठकले पोलिटब्यूरो सदस्यद्वय यामलाल कँडेल र प्रकाश ज्वालालाई बुधबारसम्म सहमति गरी एकजनाको नाम दलको नेतामा प्रस्ताव गर्न जिम्मा दियो ।

उहाँहरू दुवैजना केन्द्रीय तहका नेता भएकाले दुईमध्ये एकजनालाई नेता बनेर आउन भनेका छौं,’ बैठकमा सहभागी सांसद सुशील थापाले भने, ‘यो विषयमा खासै विवाद त छैन, तैपनि सहमतिकै आधारमा नेता चयन होस् भनेर हामीले यस्तो निर्णय गरेका हौं ।’ अध्यक्षतासम्बन्धी अन्योल भएपछि शनिबारको बैठक जेष्ठ सदस्य पदम बोहोराको अध्यक्षतामा भएको थियो ।

६ नम्बर प्रदेशसभामा सबैभन्दा ठूलो दलकारूपमा रहेको एमालेले भने संसदीय दलको नेता चयन प्रक्रिया थालेको छ । माओवादी केन्द्र र कांग्रेसले भने अहिलेसम्म संसदीय दलको बैठकसमेत बसाल्न सकेका छैनन् ।

 यो प्रदेशमा सबैभन्दा बढी चासो माओवादी केन्द्रबाट संसदीय दलको नेता को बन्छ भन्ने छ । वाम गठबन्धनको भागबण्डामा ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेकोले सबैको ध्यान माओवादीतिरै छ । माओवादी संसदीय दलको भने अहिलेसम्म बैठक बस्ने सकेको छैन । दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद धर्मराज रेग्मी अनौपचारिक रूपमा सांसदबीच छलफल भए पनि औपचारिक बैठक भने बस्न नसकेको बताउँछन् । ‘यहाँ (प्रदेशमा) जति छलफल भए पनि नेता छनोट माथिकै निर्देशनबाट हुने हो,’ उनले भने, ‘तैपनि संभवतः भोलि (आइतबार) नै दलको पहिलो बैठक बस्छ होला ।’ संसदीय दलको नेता छनोट सहमतिकै आधारमा हुने उनले बताए ।

६ नम्बर प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद छन् । पूर्वमन्त्रीसमेत रहेका कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।

कांग्रेसले त औपचारिक रूपमै संसदीय दलमा केन्द्रको ‘हस्तक्षेप’ प्रवेश गराएको छ । नेता चयनका लागि सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएपछि प्रदेश सांसदहरू असन्तुष्ट छन् । ‘हामीले आफ्नो नेता आपैm छनोट गर्न सक्छौं,’ एक सांसदले भने, ‘केन्द्रले प्रतिनिधि के को लागि खटाएको हो थाहा भएन।’

६ सदस्यीय संसदीय दलमा सबैभन्दा वरिष्ठ सांसद पूर्वमन्त्री जीवनबहादुर शाही भने प्राविधिक कारणले बैठक बस्न ढिलाइ भएको बताउँछन् । उनले आइतबार पहिलो बैठक बसेर संसदीय नेता छनोटलगायत विषयमा छलफल हुने जानकारी दिए । ‘केन्द्रीय प्रतिनिधि पनि यतै हुनुहुन्छ, छलफल गरेर हामी बैठक बस्छौं,’ उनले भने।

एमालेको ‘ड्रेसकोड’
एमाले संसदीय दलको शनिबार बसेको बैठकले प्रदेशसभा सांसदका लागि ‘ड्रेसकोड’ बनाएको छ । पुरुष सांसदका लागि दौरासुरुवाल, टोपी र महिला सांसदका लागि सारीचोलो लगाउने निर्णय भएको  सांसद शुशील थापाले जानकारी दिए । उनका अनुसार पोशाकको रङबारे निर्णय भएको छैन।

 बैठकले बाम गठबन्धनले प्रदेशसभा संसदीय दल र प्रदेश कमिटीको अपेक्षाविपरीत मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय हुनुलाई ‘गम्भीर गल्ति’ भनेको छ । तैपनि यो निर्णय स्वीकार गरी गठबन्धनको भावनाअनुरूप अघि बढ्ने निर्णय भएको छ,’ सांसद थापाले भने।

प्रकाशित: २२ माघ २०७४ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App