१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मैले नयाँ ढङ्गले काम थालिसकेको छुः प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफैले नयाँ ढंगले काम सुरु गरिसकेको बताएका छन्। 

उनले सरकारले अब नयाँ ढंगले काम गर्ने बताउँदै त्यसको सुरुवात आफैबाट गरिसकेको दाबी गरे। १३१ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र अब यसपछि पनि रेकर्ड राख्ने काम गर्ने बताए। त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताए।

‘सरकारले  आज एक वर्ष पूरा गरेको छ। योबिचमा केही न केही रेकर्डहरू त बनेकै छन्,’ उनले भने, ‘अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको छु। म आफैँले नयाँ ढङ्गले काम थालिसकेको छु।’ अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ र  बनाउनुपर्ने उनले बताए। आफू बिहान १० बजेनै कार्यालय जान थालेको र मन्त्रीहरुसँग उनीहरूको कामबारे बुझ्न थालेको उनले बताए।

उनले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूले सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को वर्षको कार्य प्राथमिकताका विषयमा प्रस्ट पार्ने बताए। दाहाल प्रधानमन्त्री बनेको आज एक वर्ष पूरा भएको छ। यो  अवसरमा प्रधानमन्त्री दाहालले साँझ ५ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्।  

प्रकाशित: १० पुस २०८० ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App