प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तारुढ राजनीतिक दल संघीय संसद्को अधिवेशन केही समय टार्ने रणनीतिमा पुगेका छन्।
संसद्को हिउँदे अधिवेशन बोलाउने समय घर्कंदै गए पनि सरकार तत्काल अधिवेशन बोलाउने पक्षमा नरहेको स्रोतको दाबी छ। बरु तत्काल केही अध्यादेश जारी गर्ने र त्यसकै आधारमा शासन सञ्चालन गर्ने रणनीतिमा प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरू छन्।
सत्ता घटक माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनपछि मात्र संघीय संसद्को अधिवेशन बोलाउने पक्षमा छन्। ‘राष्ट्रियसभा सदस्यको निर्वाचन संघारमा आएकाले दलहरू त्यसको तयारीमा लाग्नुपर्ने छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘निर्वाचनपछि मात्र बैठक बोलाउँदा हुन्छ की भन्ने राय सत्ता गठबन्धन दलहरूको पनि छ।’ प्रधानमन्त्री दाहालले संसद् बैठक सञ्चालन गर्न पनि निकै अप्ठेरो रहेको भन्दै गठबन्धा दलका नेताहरूसँग विभिन्न तहमा छलफल गरिरहेका छन्।
दलहरूसँग परार्मशमा रहेका प्रधानमन्त्री दाहालले मंगलबार राष्ट्रपति पौडेललाई भेटेका थिए। दाहाललगतै कांग्रेस प्रमुख सचेतक रमेश लखेक पनि शीतल निवास पुगेका थिए।
राष्ट्रियसभाका १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। सत्ता गठबन्धन दलहरू सिट भागबन्डा गरेर अघि बढ्ने तयारीमा छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक महिलासहित कांग्रेसले १० सिट लिने तयारी छ। बाँकी १० सिट गठबन्धनका अन्य दलबीच भागबन्डा हुनेछ।
प्रकाशित: ५ पुस २०८० १२:१० बिहीबार