२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेटमा विभेद गरेको भन्दै विरोध प्रदर्शन

बजेटमा विभेद गरेको भन्दै विरोधमा कांग्रेस र समाजवादी फोरमका प्रतिनिधी । तस्बिर : नागरिक

लहान – वडास्तरीय बजेट विनियोजनमा पक्षपात गरेको भन्दै नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका प्रतिनिधीले नगरसभा बहिष्कार गरी बिरोध जनाएका छन्। बिहीबार सम्पन्न नगरसभामा कांग्रेस र समाजवादी फोरमका निर्वाचित १३ वडाध्यक्ष र एक कार्यपालिका सदस्यसहित ५९ जना नगरसभाका सदस्यहरुले नगरसभा बहिष्कार गरि विरोध प्रदर्शन गरे।

२४ वडा रहेको लहान नगरपालिकामा नगर प्रमुख, उपप्रमुखसहित १ सय २५ नगरसभा सदस्य छन्।  बहिष्कारमा उत्रिएका कांग्रेस र समाजवादी फोरमका वडा अध्यक्षद्वय कन्हैया प्रसाद गुप्ता र राकेश गुप्ताले पत्रकार सम्मेलन गर्दै कांग्रेस र फोरमबाट निर्वाचित १३ वटा वडामा ५ लाखदेखि २० लाखसम्म मात्र बजेट विनियोजन गरेकोले आफूहरु नगरसभा बहिष्कार गरी बिरोधमा उत्रेको बताए। वाम गठबन्धन (एमाले-माओवादी केन्द्र)बाट निर्वाचित भएका वडाध्यक्षहरुको ११ वटा वडामा २५ लाखदेखि ६५ लाख रकम विनियोजन गरेको उनीहरुको आरोप छ।

पत्रकारलाई प्रवेश निषेध गरिएको लहानको प्रथम नगरसभाको  बजेट सार्वजनिकीकरणका लागि आयोजित पत्रकार सम्मेलनमा मेयर साहले भने– ‘मेरो विकासको योजना देखेर कांग्रेस र समाजवादी फोरमका प्रतिनिधिहरु आत्तिएर लफडा सुरु गरेका छन्।’ उनले विकासको पहुँच नपुगेको वडाहरुमा बढी रकम विनियोजन गरेको दाबी गरे।

बजार क्षेत्र तथा नगरस्तरीय योजना भएको वडाहरु ६ र ७ लाई पाँच–पाँच लाख वडास्तरीय बजेट छुट्याइएको उनले बताए। नगरस्तरीय योजना परेको वडामा वडास्तरीय योजनामा कम रकम विनियोजन गरिएको जानकारी दिँदै उनले भने– ‘वडा कार्यालय सञ्चालनका लागि २ लाख रुपैयाँ विनियोजन गरेका छौं। विकास बजेट भने ५ लाख छुट्याइएको छ।’

वडा नम्बर ७ का वडा अध्यक्ष राकेश गुप्ताले भने बजेटको बाँडफाँडमा मेयरले विभेद गरेको आरोप लगाए।

वडास्तरीय बजेड बाँडफाँडमा ५ लाख देखि ६५ लाखसम्म गरिएको छ। जसमा सबैभन्दा बढी ६५ लाख बजेट वडा नम्बर २४ मा विनियोजन गरिएको छ। ‘मेयरसाब मासिक १ लाख २० हजार रुपैयाँ सवारी भाडामा खर्चिरहेका छन्, हामीलाई विकास बजेट ५ लाखमा सिमित गरिदिएको छ,’ गुप्ताले भने।

बहुमतको आडमा यहाँ समाजिक न्यायको सिद्धान्तलाई खिल्ली उडाउने काम भएको टिप्पणी गर्दै वडा नम्बर २३ का अध्यक्ष कन्हैया प्रसाद गुप्ताले भने, ‘हामी वडास्तरीय बजेटमा एकरुपता कायम नगरिएसम्म बिरोध र आन्दोलन गर्छौ।’

आर्थिक वर्ष २०७४÷०७५ का लागि लहान नगरपालिकाले प्रथम नगरसभाबाट करिब डेढ अर्बको बजेट प्रस्तुत गरेको छ।

शुक्रबार लहान नगरपालिकाका मेयर मुनि साह सुडीले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७४÷०७५ का लागि १ अर्व ४७ करोड  २७ लाख ४० हजार ३ सय २७ को बजेट प्रस्तुत गरेका हुन।

नगर प्रमुख साहले लहानलाई पूर्ण व्यवस्थित शहर बनाउनका लागि घण्टाघर, डिजीटल वाचनालय, संग्रहालय, चिडिया घर लगायतका योजनामा बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: १३ माघ २०७४ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App