१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनको सरकार बाध्यता: अर्थमन्त्री डा.महत

तस्बिर: काँग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महत।

नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धनको सरकार अहिलेको बाध्यता भएको बताएका छन्। कुनै दलसँग स्पष्ट बहुमत नभएकाले गठबन्धन सरकार बनाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ। 

मंगलबार नेपाली काँग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले गठबन्धन किन गर्नुप¥यो भन्ने प्रश्न पार्टीको कोणबाट हेर्दा ठिकै जस्तो देखिएपनि अहिले बाध्यात्मक आवश्यकता भएको बताएका हुन्।

‘कुनै दलसँग बहुमत छैन। यो अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन’, उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीका कारण एउटा मात्रै दलको बहुमत आउन कठिन छ। एकल बहुमतका लागि हामीले ठूलै जनप्रभाह हाँसिल गर्न जरुरी छ।’ काँग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राम्रो काम गरिरहेको उनको दाबी थियो। ‘हामीले राम्रो काम गर्ने प्रयास गरिरहेका छौँ। देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन्। तर हाम्रो सामर्थ्य कम छ। देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकै पटक सम्भव छैन’, अर्थमन्त्री महतले भने, ‘समस्या समाधानका लागि हामीले इमानदारिताका साथ प्रयास गरिरहेका छौँ, समर्पणका साथ काम गरिरहेका छौँ।’ आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको समय मुलुकको अर्थतन्त्र एकदमै अप्ठेरोमा रहेको स्मरण गर्दै उनले अहिले अर्थतन्त्र सुधारको क्रममा रहेको दाबी गरे। ‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दै अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिरहेका थिए। अहिले बिस्तारै अर्थतन्त्र सुधार भइरहेको छ’, उनको दाबी थियो।

बहुमत ल्याएर काँग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पण भाव आवश्यक रहेको डा. महतको भनाई छ। काँग्रेस पार्टीले गरेको राम्रा काम र आगामी दिनमा गर्ने काम सबैले गर्व गर्ने खालको हुनुपर्ने भन्दै उनले आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभिएमा काँग्रेसले बहुमत आउन सक्ने दाबी गरे। काँग्रेसभित्र रहेको समस्यालाई सम्बोधन गर्ने बित्तिकै पार्टीले एकल बहुमत ल्याउन सक्ने महतको विश्वास थियो। ‘नयाँ विषय र एजेण्डा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो छ। कुराको पछाडि होइन, कामको आधारमा पार्टीको मूल्याङ्कन हुनुपर्छ’ मन्त्री महतले भने, ‘पार्टीभित्रै एक अर्काको आलोचना गर्न छोड्दै अब मिलेर अघि बढ्नुको विकल्प छैन।’ 

प्रकाशित: ३ पुस २०८० १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App