२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सुदूरपश्चिमको विकासका लागि सबैभन्दा बढी समय दिएको छु’

प्रधानमन्त्रीको तेस्रो कार्यकालसम्म पनि आफूले सबैभन्दा बढी शिक्षा, स्वास्थ्य तथा औद्योगिक विकासका लागि सुदूरपश्चिमलाई नै समय दिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले भारत या चीन जाँदा किन नहोस् कार्यक्रम तथा योजना बनाउँदा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशलाई नै प्राथमिकता दिएको बताए।

दोधारा चाँदनी सुख्खा बन्दरगाहका लागि भारत भ्रमणमा रहँदा त्यसबारेमा ठोस सहमति गरेको उनले बताए। उनले भने, ‘निर्माण प्रक्रिया अगाडि बढ्दै छ।’

गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल कलेजमा लैजाने अवधारणा लगेको बताउँदै उनले भने, ‘विधेयक तयार भएको छ, सदनमा लैजाने तयारी भइरहेको छ।’

गेटामा मेडिकल कलेज हुँदैन कि भन्ने शंका कहीँ कतैबाट नभएको उनले स्पष्ट पारे। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नेपालको पहिलो हेल्थ साइन्स युनिभर्सिटी बन्ने र त्यो नै सुदूरपश्चिममा बन्ने सौभाग्य प्राप्त भएको उनले बताए।

विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कुल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताल रहने उनको भनाइ थियो। त्यसका लागि विधेयक व्यवस्थापिका संसद्मा प्रवेश गरेको पनि उनले बताए।

‘हामी छिट्टै विश्वविद्यालयको विधेयक पारित गरेर कक्षा र अस्पताल सञ्चालन गर्न सक्ने अवस्थामा हुनेछौं। यो विश्वविद्यालय स्थापना भएसँगै एकातिर प्राज्ञिकरुपमा विश्वमै प्रतिस्पर्धा गर्ने किसिमले स्वास्थ्य विज्ञान अध्ययनको हब सुदूरपश्चिम बन्ने छ,’ उनले भने, ‘अर्कोतर्फ विश्वविद्यालयभित्रै ६ सय बेडको अस्पताल र वरिपरिका अन्य सामुदायिक अस्पतालहरु पनि शिक्षण अस्पतालको रुपमा स्तरोन्नति हुनेछन्।’

यसैगरी सुदूरपश्चिम र कर्णालीको समग्र विकासमा ऐतिहासिक महत्त्व राख्ने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत परियोजना बनाउने घोषणा भएको पनि उनले बताए।

खप्तड क्षेत्रलाई सांस्कृतिक र पर्यावरणीय पर्यटनको केन्द्र निर्माणका लागि सरकारले पहल गरेको बताउँदै उनले भने,‘लगानी सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना यहाँहरूले तयार गर्नुहुनेछ र सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु।’

सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोड्ने महाकाली कोरिडोर, उत्तरतर्फ उरै भञ्ज्याङदेखि दक्षिणतर्फ भारतको सीमा जोड्ने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्योगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको कामको सुरुवाते यसअघिका कार्यकालमा आफ्ना केही रणनीतिक महत्वका कामहरु रहेको भन्दै प्रधानमन्त्री दाहालले चर्चा गरे।

संघीय सरकारको बजेटमा तुलनात्मक रुपमा सुदूरपश्चिम प्रदेशले न्याय पाएको उनले बताए।

‘सुदूरपश्चिममा विकासका ठुला-ठूला परियोजना अघि बढेका छन्,’ उनले भने, ‘शैक्षिक, लैङ्गिक, स्वास्थ्य लगायतका सामाजिक, आर्थिक सूचकाङ्कहरूमा गुणात्मक परिवर्तन भएको छ।’

प्रकाशित: २२ मंसिर २०८० १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App