२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस्

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन्। 

बिहीवार पर्वतमा मेची—महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

उनले केही पहिचानवादीहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरुलाई बुद्धि सच्याउन आग्रह गरे। उनले नेकपा एमाले कहाँ जान पाउने? कहाँ जान नपाउने? भन्नेकुरा सिकाउन आवश्यक नरहेको जिकिर गरे। उनले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ति नलगाउन चुनौति दिए। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर अघि बढ्ने चेतानवी दिए।

उनले भने, ‘सबै फलेको फुलेको छ, छोरी, ज्वाईं, नाती नातिना सबै फलेको फुलेको छ। जनता, लडाकु, घाईते, शहीद, शहिदका परिवार बिर्सिएका छन् यिनीहरुले। आफ्ना निम्ति फलिफाप भएको छ। अर्को प्रकारले पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन्। अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो। एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु, वितण्डा मच्चाउनलाई ठूलो तत्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन। विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खल्बल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरु लागिरहेका छन्। उनीहरुले भनिरहेका छन्, नेकपा एमालेको यो झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश एकमा प्रवेश गर्न दिन्नौँ। किन नदिने? नेकपा एमाले कहाँ जान पाउने? कहाँ जान नपाउने? नेकपा एमाले त प्रदेश एकमा पनि छ । खास जान नपाउने को? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरु हामीले धेरै देखेका छौँ। यस्तो फुर्ति नलगाए हुन्छ। हामीले सामना गर्न नपरोस्। म उहाँहरुलाई भन्न चाहन्छु, यो बुद्धि छिटै सच्याउनुस्। यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरुलाई सर्वनाश गर्छ।’

प्रकाशित: २१ मंसिर २०८० ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App