१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मनोमालिन्य हटाऊ, पार्टीलाई बलियो बनाऊ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरु बिचको मनोमालिन्य हटाएर नेपाली कांग्रेसलाई बलियो बनाउनु पर्ने बताएका छन्।

नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै देउवाले नेतृत्वलाई गाली गर्दैमा पार्टी बलियो नहुने भन्दै नेता कार्यकर्ता सबैले आपसी मनोमालिन्य हटाएर एकता कायम गर्नु पर्ने बताएका हुन।

पार्टीलाई बलियो बनाउन र एकता कायम गर्न आफू मिलेर काम गर्न तयार रहेको संकेत गर्दै देउवाले कम बोले पनि काम बढी गर्न खोजिरहेको बताए।

‘हुन त म धेरै बोल्ने मान्छे होइन तपाईँहरूलाई थाहा छ, अहिले त झन् कम बोलेर काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ’ देउवाले भने।

देउवाले घुमाउरो ढंगबाट गुटउपगुटले पार्टीलाइ कमजोर बनाएको स्वीकार गर्दै आपसी एकता कायम गरी पार्टीलाइ बलियो बनाउनु पर्नमा जोड दिए।

झण्डै ४ घण्टा कार्यक्रममा बसेका देउवाले निकै छोटो सम्बोधन गर्दै बुद्धले बुद्धत्व प्राप्त गरेको स्थानबाट पार्टीमा एकता स्थापित गरी बलियो बनाउने विश्वास व्यक्त गरे।

त्यसअघि कार्यक्रममा बोलेका प्रदेश सभापतीहरु र केन्द्रीय सदस्यहरुले गुटउपगुटले पार्टीलाइ कमजोर बनाएको र कांग्रेस कमजोर हुँदा संघीयता र संविधान नै धरापमा परेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए।

नेताहरुको चर्को आलोचना सुनिसकेपछि देउवाले आफ्नो सम्बोधनमा नेतृत्वलाई गाली गर्दैमा नेता नभइने भन्दै काम गरेर देखाउन नेताहरूलाई आग्रह समेत गरेका थिए।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसमा गुटले महामारीको रूप लिएको भन्दै नेतृत्वले आचरण सुधार गर्नु पर्ने बताएका थिए।

भण्डारीले महामारी फैलिएको गुटकाविरुद्ध भ्याक्सिन लगाउनु पर्ने भनाइ राखेका थिए। त्यसपछि सभापति देउवाले भण्डारीलाई अव कुरा मात्रै नगर्न आग्रह गर्दै काम गरेर देखाउन चुनौती दिए। ‘चन्द्रजीले बडो राम्रो कुरा गर्नु भयो अव भाषण मात्रै गरेर भएन तपाइले काम पनि गर्नु पर्छ, अब तपाइको काम गर्ने बेला आएको छ’ देउवाले भने।

सभापति देउवाले आफू हतारमा रहेको र प्लेन छुट्ने भन्दै वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अघि नै बोलेर हिँडेका थिए।

प्रकाशित: १६ मंसिर २०८० १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App