२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्मा अभिव्यक्ति दिएकै दिन घरमा सिलिण्डर विस्फोट हुनु शङ्कास्पद: चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूसँग भएको घटना शङ्कास्पद रहेको बताएका छन्। त्यतीबेला आफूलाई केही थाहा नभए पनि उपचार पछि आएर बुझ्दा घटना शङ्कास्पद रहेको उनले बताए।

घटनापछि पहिलो पटक कांग्रेसको जिल्ला सम्मेलनका लागी गृह जिल्ला गुल्मी पुगेका नेता भण्डारीले संसद्मा अभिव्यक्ति दिएकै दिन घटना घट्नु संयोग मात्र नभएको टिप्पणी गरे। 

‘त्यतीबेला त होस रहेन, म अचेत भएँ, ‘उनले भने, ‘आएर सबै कुरा बुझ्दा घटनामा प्रशस्त शङ्का गर्ने ठाउँ छ।’ 

घटनापछि घरमा अन्य कुरा सबै ठिकठाक रहेको तर आगोको लपेटामा आमा र आफू मात्र परेको भन्दै उनले आशङ्का व्यक्त गरे।

‘उपचारबाट फर्केपछि मैले प्रहरीसँग कुरा गरेँ। रेगुलेटर ठिकठाक रहेछ, सिलिण्डर पनि ठिकठाक छ। फलफूल ल्याएको जस्ताको त्यस्तै छ। अन्य किचनमा भएको अन्नपात ठिकठाक छन्। घरमा रहेका अन्य सदस्य पनि ठिकठाक छन्। आमा र म मात्र जल्यौँ। यो अलि ठिक देखिएन।’ उनले भने।

घटना पछि अहिले आफू ठिक रहेको भन्दै नेता भण्डारीले जेनतेन बाँचेर आएको मान्छेलाई अब कुनै गल्ती गर्ने छुट नरहेको बताए। गुल्मेली जनताले अमूल्य मत दिएर आफूलाई सांसद बनाएर पठाएको भन्दै यहाँका जनताको विश्वास आफूले नतोड्ने उनको भनाई छ।

‘मलाई झुट बोल्ने छुट छैन। कसैले भ्रष्टाचार गर्दा टुलुटुलु हेरेर बस्ने छुट पनि छैन, ‘उनले भने, ‘मर्दामर्दै बाँचेर फर्केको मान्छे, जनताको पक्षमा काम गर्छु।’

काठमाडौंको बुद्धनगरस्थित निवासमा सिलिन्डर विस्फोट हुँदा उनी घाइते भएका थिए। घटनामा उनले ८६ वर्षीय आमा गुमाएका थिए।

प्रकाशित: ९ मंसिर २०८० १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App