१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वराजा ‘नबोल्दा’ प्रसाईं असन्तुष्ट

प्रहरी घेरामा प्रसाईं

दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी हुन आएको आशंकामा काठमाठौं तीनकुनेमा पैदल यात्रीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : विजय राई/नागरिक

राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियान’ मा जोडिएका अभियन्ता पूर्वराजा शाहको भूमिकासँग असन्तुष्ट देखिएका हुन्।

राजतन्त्रका पक्षमा राजधानीमा आन्दोलन चलिरहँदा यसबारे पूर्वराजा शाहबाट कुनै अभिव्यक्ति आएको छैन। आन्दोलनका क्रममा प्रसाईं समूह र सुरक्षाकर्मीबीच तनाव सिर्जना भइरहेको छ। तर पूर्वराजा शाहबाट त्यसबारे कुनै प्रतिक्रिया आएको छैन। बरु उनी प्रसाईं समूहको आन्दोलनलाई खुलेर समर्थन नगरेको तर उस्तै अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।

झापाको बिर्तामोड चोकमा रहेको इकम कलेजले आफ्नै प्रांगणमा बनाएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा सहभागी हुने बहानामा पूर्वराजा शाह झापा गएका हुन्। तर त्यहाँ पूर्वराजा शाहको उपस्थितिमा राप्रपाले अघोषित रूपमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ। त्यसअघि पूर्वराजाको नागरिक तहबाट स्वागत गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ। स्वागत कार्यक्रमपछि मोटरसाइकलसहितको ¥याली कार्यक्रमस्थलमा लैजाने तयारी छ। पूर्वराजा शाहको सम्बोधनको कार्यक्रम भने नराखिएको बताइएको छ।

राजधानीमा आफूहरूले आन्दोलन चर्काउन खोजिरहँदा राप्रपाले झापामा कार्यक्रम गरेर यताको आन्दोलनबाट ध्यान भड्काउन खोजेको प्रसाईं समूहको बुझाइ छ। राजधानीको आन्दोलनमा आएका राप्रपाका केही नेता–कार्यकर्ता झापातर्फ जाँदा अभियानमा केही समस्या देखिएको प्रसाईं समूहका एक अभियन्ताले बताए। ‘राप्रपाले नै खुलेर हामीलाई सहयोग नगरे पनि ज्ञानेन्द्र शाहीलगायतका नेताले व्यक्तिगत रूपमा सहयोग गर्नुभएको छ। जिल्लाजिल्लाबाट तमाम नेता–कार्यकर्ता आउनुभएको थियो,’ पूर्वराजा र राप्रपाको भूमिकाका विषयमा खुलेर नबोल्ने सर्तमा ती अभियन्ताले भने, ती नेता–कार्यकर्ता पूर्वराजा झापा जाँदा उतै गए। त्यसले हाम्रो आन्दोलनमा केही समस्या भएकै छ।’

पछिल्लो समय अभियानका संयोजक प्रसाईं पनि पूर्वराजा र राप्रपाको भूमिकाप्रति सन्तुष्ट नरहेको ती अभियन्ताको दाबी छ। ‘प्रसाईं दाजु पनि सन्तुष्ट नै त हुनुहुन्न। राजाकै हातबाट उद्घाटन गराएको महाभियान हो, त्यसैले अहिले नै सार्वजनिक रूपमा बोल्दा नैतिक रूपमा कमजोर भइन्छ भन्ने छ,’ ती अभियन्ताले भने। त्यसो त प्रसाईं र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच राम्रो सम्बन्ध नभएको जानकार बताउँछन्। दुवैको गृह जिल्ला झापा हो। गत वर्ष प्रतिनिधिसभा निर्वाचनमा प्रसाईंले एमालेको टिकटमा लिङ्देनकै क्षेत्र झापा ३ बाट प्रत्यक्ष निर्वाचन लड्न चाहिरहेका थिए।

अन्तिम अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो क्षेत्रमा लिङ्देनलाई सहयोग गर्ने रणनीति लिएपछि प्रसाईं एमालेबाट बिच्किएका हुन्। त्यसपछि केही समय प्रसाईं ओलीसँग असन्तुष्ट सुनिए। प्रसाईंले गत फागुन १ गते वर्तमान व्यवस्थाविरुद्ध झापाबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियान सुरु गरे। उनले अभियान सुरु गर्दा पूर्वराजा शाह त्यहाँ उपस्थित थिए। पूर्वराजा शाहको सो उपस्थितिलाई राप्रपा अध्यक्ष लिङ्देनसँगको असन्तुष्टिका रूपमा चर्चा गरिएको थियो। त्यसअघि पूर्वराजाले नचाहँदानचाहँदै लिङ्देन एमाले अध्यक्ष ओलीको अनुपस्थितिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

पछिल्लो समय प्रसाईंको कार्यक्रममा राजावादी र हिन्दुवादी शक्तिको सहभागिता बढ्दै गएपछि राप्रपा अध्यक्ष लिङ्देनको टाउको दुखाइ बढ्दै गएको टिप्पणी गर्न थालिएको छ। यही अजेन्डामा राजनीति गरिरहेको राप्रपालाई आफ्नो जनमत प्रसाईंतिर लाग्ने भय छ।

राप्रपाका प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्र शाहीलगायत नेताले भने प्रसाईंको अभियानलाई सहयोग गरेका छन्। यस्तोमा आफैंले उद्घाटन गरेको अभियानअन्तर्गत राजधानीमा हजारौं मान्छे उत्रिएर आन्दोलन गरिरहँदा पूर्वराजा शाह झापा पुगेकोमा प्रसाईं समूहको चित्तदुखाइ छ। यसबारे अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले भने नागरिकसँग खुलेरै असन्तोषको अभिव्यक्ति दिए। ‘हुन त उहाँ (ज्ञानेन्द्र शाह) को ६ महिनाअघि तय भएको कार्यक्रम भनिएको छ। तर पनि राजतन्त्र भनेर उहाँका लागि हजारौं मान्छे राजधानीका सडकमा लडिरहेका छन्। राज्यले दमन गरिरहेको छ,’ उनले भने, ‘यस्तोमा उहाँ झापा जानु जायज होइन। सुरक्षाका दृष्टिकोणबाट पनि त्यहाँ जोखिम हुन सक्छ।’ उनले राजधानीका सडकमा नागरिक राजतन्त्रका लागि राज्यसँग लडिरहँदा पूर्वराजा शाहबाट पनि केही सद्भाव र शुभेच्छाका स्वर सुनिनुपर्ने बताए।

‘हामीले राजतन्त्र पुनःस्थापना हुनुपर्छ। राजा फर्किनुपर्छ भनिरहेका छौं। यस्तोमा उहाँले पनि म आउँछु भन्नुपर्छ कि पर्दैन ? उहाँ नै नबोले हामी कति दिन एक्लै लड्न सक्छौं,’ माण्डव्यले भने। पूर्वराजाले चाँडोभन्दा चाँडो आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी घेरामा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले शुक्रबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रम स्थानीय प्रशासन र सुरक्षा निकायहरूका कारण असफल बनेको छ। प्रसाईं समूहले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नलिई बिहान ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने भनेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यान दिई प्रशासन र सुरक्षा निकायहरूले कार्यक्रम सुरु हुनै दिएनन्।  

बिहान कार्यक्रम थाल्नुपूर्व नै प्रसाईंलाई भक्तपुर ठिमीस्थित उनकै घरमा सुरक्षाकर्मीको बाक्लो पहरासहित ‘नजरबन्द’ मा राखिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नजरबन्द नभई प्रसाईंकै सुरक्षाका लागि त्यसो गरिएको प्रतिक्रिया दिएका छन्। ‘उहाँलाई हामीले नजरबन्दमा राखेका छैनौं। सुरक्षाका निम्ति आज मात्र होइन, उहाँ काठमाडौं छिरेदेखि, बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेका हौं। 

उहाँको सुरक्षा चुनौती विश्लेषण गरेर घरमा पनि सुरक्षा प्रदान गरिएको हो,’ उनले भने, ‘नजरबन्द गरिएको छैन। उहाँ पत्रकार सम्मेलन गरेर बसिरहनुभएको छ, अफवाह फैलाइरहनुभएको छ, कानुनलाई चुनौती दिइराख्नुभएको छ।’ शान्तिपूर्ण नहुने देखिएकाले र तीनकुनेमा अनुमति नलिएकाले प्रसाईंको कार्यक्रम गर्न नदिइएको प्रजिअ बस्नेतले बताए। ‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हक र बिनाहातहतियार भेला भएर शान्तिपूर्वक कार्यक्रम गर्न पाउने हकप्रति सम्मान छ। तर दुर्गा प्रसाईंजीको कार्यक्रम अराजक बन्दै गएको छ र त्यो उनकै नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने।

प्रसाईं समूहका अभियन्ताले तीनकुनेमा जम्मा भएर कार्यक्रम गर्ने प्रयास गरेका थिए। त्यसमा पनि सुरक्षाकर्मीले अवरोध गरे। तीनकुने क्षेत्र दिनभर सुरक्षाकर्मीले बाक्लो पहरामा थियो। सो क्षेत्र भएर हिँड्ने यात्रु एवं बटुवाहरूलाई समेत प्रहरीले निकै केरकार गरेका थिए। त्यसक्रममा प्रसाईं समूहका दुई सयभन्दा बढी समर्थकलाई प्रहरीले गिरफ्तार नै गरेको प्रहरीको भनाइ छ। ‘निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने मनशायले आएका करिब दुई सयजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो,’ शुक्रबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले भने, ‘अहिले छाड्ने काम भइरहेको छ।’ प्रसाईं समूहले भने प्रहरीले तीन हजारभन्दा बढीको धरपकड गरेको दाबी गरेको छ।

यस्तै प्रसाईं समूहले बिहीबार बल्खुमा गरेको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतीश न्यौपाने, अनुप शाही र आवास खड्का छन्। उनीहरूलाई प्रहरी वृत्त सिंहदबारमा राखिएको छ।  

प्रसाईंद्वारा सर्वोच्चमा रिट

प्रसाईंलाई गैरकानुनी रूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन्। नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्था र सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन रिटमा माग गरिएको छ। 

रिटको पेसी आइतबारलाई तोकिएको छ। प्रसाईं समूहले शनिबार पनि आफ्नो कार्यक्रम जारी रहने जनाएको छ। माइतीघर मण्डलामै पुगेर कार्यक्रम गर्ने सो समूहको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यसैले शनिबारको कार्यक्रम पनि बल्खुबाहेकका क्षेत्रमा हुन नदिने सुरक्षा निकायको तयारी छ।

प्रकाशित: ९ मंसिर २०८० ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App