१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको छ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आयोगका पदाधिकारीले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने समयलाई समेत मध्यनजर गरेर आयोगका पदाधिकारीले निर्वाचनको आगामी माघ ११ गतेको मिति तोक्न उपयुक्त हुने देखिएकाले सो मिति तोक्न सरकारलाई सुझाव दिएको हो,’ उनले भने, ‘प्रधानमन्त्री दाहालले आयोगले तोकेको मितिमा निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी गराउनु भएको थियो।’

आयोगले राष्ट्रिय सभा सदस्यको आगामी निर्वाचनका लागि मतदाताको मत भार निर्धारण गरिसकेको छ। आयोगले विसं. २०७८ मा सम्पन्न जनगणनाको आधारमा राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिसमा राष्ट्रिय सभाका मतदाता रहेका प्रदेश सभा सदस्यहरू र स्थानीय तहका पदाधिकारीको मत भार तय गरिएको छ।

प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मत भार कायम हुने निर्णय आयोगले गरेको छ।

विसं. २०७८ को जनगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यको मत भार ४८ थियो भने गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मत भार १८ रहेको थियो।

नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० मा समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रिय सभामा विसं. २०७५ असार ४ गते गोला प्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि सकिन लागेको हो। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत १ गरी २० सदस्यको पद रिक्त हुँदै छ।

राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनासहितका नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० जना सांसदहरूको पदावधि आगामी फागुन २१ गतेदेखि सकिदैंछ। जसमा १ मनोनितबाहेक १९ सदस्यका निम्ति निर्वाचन हुनेछ।

नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल (मनोनित) को पदावधि सकिँदैछ।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव, नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, नेकपा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि सकिँदैछ।

प्रकाशित: ७ मंसिर २०८० ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App