१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिस्ट नेताको चीनतर्फ लर्को

गएको जेठमा सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो। टोलीमा पार्टीका तीनजना सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, सातै प्रदेश अध्यक्षहरू, ८ वटा जनवर्गीय संगठनका प्रतिनिधिहरू र प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका प्रतिनिधिहरू थिए।

जेठ ५ गते गएकोे सापकोटा नेतृत्वको भ्रमण टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत, राजधानी बेइजिङ र हुपेइ प्रान्तको अवलोकन गरी १० दिन बिताएर फर्किएको थियो।

लगत्तै भदौमा प्रमुख पतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा फेरी अर्को जम्बो टोली चीन भ्रमणमा निस्कियो। भदौ १६ गते गएको २१ सदस्यीय भ्रमण टोलीमा एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरू राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेललगायत थिए। उक्त टोलीले भदौ १७ देखि २९ गतेसम्मगरी १३ दिन चीनमा बिताएको थियो।

यसपटक भ्रमणको पालो नेकपा एकीकृत समाजवादी(नेकपा एस)को चलिरहेको छ। पार्टीअध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गएको नेकपा एसको १५ सदस्यीय टोली अहिले चीन भ्रमणमा छ। भ्रमण टोलीमा पार्टी उपाध्यक्ष समेत रहेका कृषिमन्त्री बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधीर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत छन्। जाजरकोट भूकम्पका पीडितहरूका लागि राहतस्वरुप पार्टीले छुट्याएको २५ लाख रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेर मंगलबार अध्यक्ष नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको थियो। भ्रमण टोली आगामी मंगलबार स्वदेश फर्कने बताइएको छ।

यी सबै टोली चिनियाँ कम्युनिष्ट पार्टी(सिपिपी)को निमन्त्रणमा चीन भ्रमणमा गएको सम्बन्धित पार्टीहरूले जनाएका छन्। सिपिपीले जनवादी गणतन्त्र चीनको सरकार चलाउँछ। जसले प्रष्टै ‘राजनीतिक गन्ध’ देखिनेगरी नेपालका कम्युनिष्ट पार्टीका जम्बो टोलीलाई आधिकारिक रुपमा बोलाएर आतिथ्यता दिइरहेको छ। जसमा उसले दुई देशका कम्युनिस्ट पार्टीबिच परस्पर सम्बन्ध मजबुत बनाउने र चीनको नमूना विकासमार्फत गरिबी निवारणमा भएको प्रगती देखाउने बहाना बनाउने गरेको छ।

उसो त नेपाली कम्युनिस्ट नेताहरू व्यक्तिगत रूपमा वा विभिन्न कार्यक्रमहरूमा चीन जाने कुरा नौलो भने होइन। विशेषगरी माओवादी केन्द्रका नेताहरू अक्सर चीन गइरहन्छन्। माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अर्का उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन यो सूचीमा अग्रणी स्थानमा आउँछन्। महासचिव गुरुङ पछिल्लो पटक साउन २५ गते भ्रमणमा गएका थिए भने, उपमहासचिव पुनले चार महिना लामो समय चीनमा उपचार गरेर असारमा फर्किएका थिए।

यस्तै नेकपा एसका सम्मानित नेता झलनाथ खनालको झुकाव पनि चीनसँग निकट छ। उनी बेलाबेला चीनसापेक्ष सुनिने गर्छन्। यसपटक एक महिनाअघि उनी पनि चीन भ्रमणमा गएका थिए। चीनको राजधानी बेइजिङमा आयोजना भएको तेस्रो ‘बेल्ट एन्ड रोड फोरम’ (बिआरएफ) मा सहभागी हुन उनी चीन गएका थिए। यद्यपी उनको टोलीमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पनि सहभागि थिइन। यस्तै पूर्व राजदूत दिनेश भट्टराई, अनुप अधिकारी, प्रा.डा युवराज संग्रौला पनि टोलीमा थिए। संग्रौला पनि चीननिकट व्यक्तिका रुपमा चिनिन्छन्। खनाल नेतृत्वको टोली मात्र नभइ बिआरएफ फोरममा सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन गएका थिए। उनी माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष पनि हुन। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले असोज ६ गतेदेखि १३ गतेसम्म चीन भ्रमण गरेका थिए।

नेपालका कम्युनिस्ट नेताहरू एकैवर्षभित्र यसरी चीन भ्रमणमा निस्किएको यो पहिलो पटक भने होइन। बिगतमा पनि एकैमहिना एउटै पार्टीका तीन समूहसम्म चीन भ्रमणमा निस्किएका थिए। यस्ता भ्रमण टोली दर्जनौंको संख्याका हुने गरेका छन्। यसरी हुने अक्सर ठूलो समूहका भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुने गरेका छन्।

परराष्ट्र मामिलाका जानकारहरू दुई देशका समान विचार राख्ने राजनीतिक दलहरूबिच विशेष सम्बन्ध कायम हुनु नराम्रो नहुने विश्लेषण गर्छन्। तर त्यो सम्बन्धले दुई देशबिचको कूटनीतिक सम्बन्ध र अर्को देशसँगको सम्बन्धमा कतै असर गरिरहेको छ की भन्नेमा भने ख्याल गर्नुपर्ने बताउँछन्। ‘विशेष सम्बन्ध होला, त्यसैले भ्रमण स्वाभाविक रुपमै लिनुपर्छ,’ विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्,‘तर कहीँ त्यो निकटताले आफ्नो राष्ट्रिय स्वार्थ भुलेर उसैको(चीन)को स्वार्थअनुरुप परिचालन त भइरहेका छैनौं, त्यसमा भने सोच्नुपर्छ।’ नेपालले आफ्नो राष्ट्रिय स्वार्थअनुसार चीन, भारत र अमेरिकासँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने उनी बताउँछन्। ‘यस्तोमा हाम्रा नेताहरू लगालग एउटामात्रै देशको भ्रमणमा जाँदा अन्य देशले कसरी लिइरहेको छ। त्यो पनि बुझ्न जरुरी हुन्छ,’ उनले भने। चीनको पछिल्लो गतिबिधि हेर्दा कम्युनिस्ट पार्टीहरूमार्फत नेपालमा आफ्नो स्वार्थ लागु गर्न चाहिरहेको तथ्य नलुकेको वाग्लेको तर्क छ। उनी भन्छन्, ‘चीन नेपालका कम्युनिसट पार्टीलाई बलियो बनाएर आफ्नो भूमिका बलियो बनाउन चाहन्छ। त्यो नेकपा एक हुँदा र फुट्दा सबैले देखेको तथ्य हो। चिनियाँ कूटनीतिज्ञले त्यसक्रममा देखाएका गतिबिधिले सर्वाङ्ग पारेकै छ।’

उता पूर्व परराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका नेता राम कार्की भने कम्युनिस्ट नेताहरू मात्र चीन जान्छन् भन्ने कुरा पूर्ण सत्य नभएको बताउँछन्। ‘पहिला भारतसँग हाम्रो बाटो खुला थियो। त्यहीँ विद्यार्थी पढ्न जान्थे, तीर्थाटन हुन्थ्यो। त्यसैले त्यहाँ धेरै नेपाली जान्थे,’ उनी भन्छन्,‘अहिले हवाई र स्थलमार्गबाट चीनतिर बाटो खुल्यो। यसैले नयाँ ठाउँ पनि भयो र विकास पनि हेर्न जानुपर्ने गन्तव्य भएकाले बढी यात्रा भएको हुनसक्छ।’ यहीकारण पछिल्लो समय कम्युनिस्ट नेतामात्र नभइ चीनमा कर्मचारी एवं अन्य पार्टीका नेताहरूको जाने दर पनि उच्च रहेको उनले दाबी गरे। ‘कम्युनिस्ट नेताको चीन भ्रमणले नेपालको राष्ट्रिय स्वार्थमा कुनै समस्या आउँदैन्, आउनेगरी गतिबिधि भएजस्तो पनि लाग्दैन,’ उनले भने।

प्रकाशित: २५ कार्तिक २०८० १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App