२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन्।

बिहीवारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताए। उनले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे। संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ। उनले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताए। राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको उनले जिकिर गरे।

उनले भने, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन। यदी यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ। किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरु क्रान्ति, बलिदानहरु ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो। यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन। यो संविधान सफल गर्नुछ। यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ। यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका बिरुद्धमा आवाज उठाउने गरिएको छ। प्रायोजित रुपमा उठ्ने गरेको छ। यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो। यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन्। पुराना राजनीतिक दलहरु बेठिक हुन्, यि अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ। यो देशका लागि खतरा छ। यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ। यसले मुलुक ठिक ठाउँमा पुग्दैन। हामी राजनीतिक दलहरु यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी छ। कतिपय प्रायोजित कुरा छन्।’

प्रकाशित: १६ कार्तिक २०८० ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App