११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘शान्ति मिसनका लागि गुटेरेसको भ्रमण थप फलदायी’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालबाट मिसनमा जाने ‘शान्ति सेना’को थप व्यवस्थापनमा ठुलो प्रभाव राखेको सरकारले जनाएको छ । रक्षा मन्त्रालयले विभिन्न द्वन्द्वग्रस्त मुलुकको शान्ति मिसनमा रहेका सेनाको थप व्यवस्थापन विषयमा महासचिव गुटेरेसको भ्रमण महत्त्वपूर्ण भएको जनाएको हो ।  

रक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रकाश पौडेलले शान्ति मिसनमा नेपालबाट खटिने सेनाको सहज व्यवस्थापनका विषयमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र महासचिव गुटेरेसबीच छलफल भएको बताए ।

‘मन्त्रीज्यूसँगको भेटमा शान्ति मिसनमा खटिएका नेपाली सेनाको उचित व्यवस्थापनलगायत विषयमा कुराकानी भएको हो,’ मन्त्रालयका प्रवक्ता पौडेलले भने, ‘महासचिव गुटेरेसको नेपाल भ्रमण नेपाली सैनिकको शान्ति मिसनको थप व्यवस्थापनका विषयमा नेपालका लागि ठुलो उपलब्धि हो ।’ 

रक्षा मन्त्रालयका अनुसार सरकारले आवश्यक परे थप सैनिक मिसनमा पठाउन सक्नेसमेत राष्ट्रसंघका महासचिव गुटेरेसलाई जानकारी गराएको छ । ‘आवश्यक परे नेपाल सरकार थप सैनिकलाई शान्ति मिसनमा पठाउन सक्छ भनेर पहिलेदेखि नै जानकारी गराइरहेका पनि छौं,’ मन्त्रालयका प्रवक्ता पौडेलले भने, ‘अहिले महासचिवज्यूसँगको भेटका क्रममा पनि थप सैनिक व्यवस्थापन गर्न सकिन्छ भनेर जानकारी गराइएको छ ।’

विश्वका द्वन्द्वग्रस्त १२ मुलुकका शान्ति मिसनमा नेपालले सैनिक पठाइन्छ । नेपालबाट खटिएका सैनिक विभिन्न १२ मुलुकका १३ स्थानमा बसेर सुरक्षा दिइरहेका छन् । मन्त्रालयका अनुसार शान्ति मिसनमा अहिले ६ हजार तीन सय आठ सैनिक खटिएका छन् । ‘अहिले द्वन्द्वग्रस्त विभिन्न १२ मुलुकका १३ स्थानमा नेपाली सैनिक शान्ति मिसनका रूपमा खटिएका छन्,’ प्रवक्ता पौडेलले भने, ‘अहिले शान्ति मिसनमा रहेका सैनिकको संख्या ६ हजार तीन सय आट छ ।’ १३ वटा बटालियनमार्फत नेपाली सैनिकको काम गरिरहे ।  

नेपालले संयुक्त राष्ट्रसंघकै मागअनुसार विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना पठाउने गर्छ । उनीहरूको सुरक्षा, सेवासुविधालगायत सम्पूर्ण व्यवस्थापनको पाटो संयुक्त राष्ट्रसंघले हेर्ने गर्छ । मिसनका क्रममा नेपाली सैनिकले भोग्नुुपरेका चुनौती, उनीहरूको थप सहज व्यवस्थापनका लागि महासचिव गुटेरेससँग रक्षामन्त्रीको छलफल भएको भन्दै मन्त्रालयका प्रवक्ता पौडेलले गुटेरेसको नेपाल भ्रमणले शान्ति मिसनका सन्दर्भमा ठुलो भूमिका खेल्ने बताए ।  

‘शान्ति मिसनमा खटिएका सैनिकको सेवासुविधा, उनीहरूले भोग्नुपरेका समस्या वा चुनौती सम्बोधनका लागि महासचिवको भ्रमणले ठुलो अर्थ राखेको छ,’ प्रवक्ता पौडेलले भने, ‘सैनिकको शान्ति मिसनमा ठुलो भूमिका अहिलेसम्म रहँदै आएको पनि छ, यसलाई अझ थप सशक्त बनाउन गरिनुपर्ने पहलकदमीमा यो भ्रमणले निकै सकारात्मक भूमिका खेल्नेछ ।’

विश्वशान्ति कायम राख्ने संयुक्त राष्ट्रसंघको उद्देश्यअनुसार सन् १९५८ मा नेपालले लेबनानमा संयुक्त राष्ट्रसंघको पर्यवेक्षक समूह पठाएर शान्ति मिसनमा आफ्नो सहभागिता जनाएको थियो । अहिले विश्वशान्ति अभियानकै क्रममा नेपालले बर्सेनि ६ हजार सैनिक शान्ति मिसनमा खटाउने गरेको छ ।  

प्रकाशित: १४ कार्तिक २०८० ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App