३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो-नेत्री खातुन

नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरूले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन्।

सांसदसँग सम्बादमा उनले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद् मन्त्रालयका कोटाचोटामा  भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन्।

नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन्।

मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद् खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय संख्यात्मक संरचनाले तीव्र रूपमा कानून निर्माणमा चुनौती खडा गरेको बताइन्।

हिउँदे र बर्खे अधिवेशन सकिदाँसम्म जति कानून निर्माण गर्नुपर्ने हो त्यो नभएकोमा आलोचना भइरहेको बताउदै उनले जनताका आवाज र कानून निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउन पर्ने विचार प्रकट गरिन्।

सांसद् खातुनले भनिन्, ‘स्वार्थको राजनीतिककारण एक अर्काको अस्तित्व र उपस्थितिलाई अस्वीकार्ने, हस्तक्षेप गर्ने,सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानून तज’मालाई तीव्रता दिन चुनौती खडा भएको छ।’

नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनुपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापती गर्ने, आरोप-प्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएको टिप्पणी गरिन्।

जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै पार्टी केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुवान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द प्रमुख समस्या रहेको जानकारी दिइन्।

उनले भनिन्,‘विकास निर्माण  त गर्दै गरौला सबैभन्दा पहिला मानिस बाँच्नुपर्‍यो। जल्दाबल्दो समस्या त्यही हो। बाढी पनि समस्याकै रुपमा छ। पुल आवश्यक छ।’

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद् खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पुर्‍याएको धारणा राखिन्।

हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसावले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरूले समयमै ध्यान पुर्‍याउन आवश्यक रहेको सुझाव दिइन्।

विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिव र जनताको सेवामा समर्पित व्यक्ति अघि बढन नसक्ने अवस्था सिर्जना भएको बताइन्।

मुलुकको शिक्षा क्षेत्र र उद्योग धन्दा प्रवद्र्धनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउँदै उनले देशभित्रै स्वरोजगारमुखी सबै खाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गरिन्।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाज कल्याण समिति सदस्य समेत रहेकी सांसद् खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाका रूपमा स्थापित रहेको विश्वास व्यक्त गरिन्।

उनले भनिन्,‘सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, संस्कृति र चाड पर्वलाई सम्मान गर्दै सबै समुदायको चाडपर्वमा सबै सहभागी हुने शुभकामना आदानप्रदान गरी भाइचाराको सम्बन्ध कायम गरेका छौं।’

प्रकाशित: ६ कार्तिक २०८० ०२:३९ सोमबार

प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो