२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीमा रहेका प्रहरीका संरचना कर्णाली सारिँदै

संघीयता कार्यान्वयनमा आएको झन्डै सात वर्षपछि नेपाल प्रहरीका लुम्बिनी प्रदेशमा रहेका संचरनाहरू कर्णालीमा ल्याउन थालिएको छ। कर्णालीमा हुनुपर्ने महŒवपूर्ण प्रहरीका संरचनाहरू नेपालगञ्जमै हुँदा स्थानीयस्तरबाट विरोध सुरु भएको थियो। तत्कालीन मध्यपश्चिम विकास क्षेत्र हुँदा प्रहरीका अधिकांश संरचना बाँकेको नेपालगञ्जमा थिए। ती संरचना अझै कर्णालीमा आउन सकेका छैनन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी प्रदेश कार्यालय र केनाइल स्कुल लुम्बिनीमै छन्।

यी संरचना कर्णालीमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। हाल लुम्बिनीमा रहेको विशेष सुरक्षा गणलाई कर्णालीका तीन जिल्लामा राखिनेछ। विशेष सुरक्षा गणको दरबन्दी तीन सय छ।

हुलदंगा नियन्त्रण, विपद्मा खटिने गणलाई सुर्खेतसहित रुकुम पश्चिम र दैलेखमा राखिनेछ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक सय ७५, रुकुम पश्चिममा ७५ र दैलेखमा ५० जना राख्ने निर्णय भएको छ। अहिले नेपालगञ्जबाट ५० जना रुकुम पश्चिमको चौरजहारी र ५० जना प्रहरी सुर्खेतको गुमीमा आइपुगेका छन्।

गणको मुख्य कार्यालय सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ र १४ मा रहेको साढे चार विघा जमिनमा हुनेछ। पूर्वमाओवादी लडाकुको ब्रिगेड कार्यालय रहेको स्थानमा प्रहरीको गण बस्न लागेको हो। गणका लागि आवश्यक संचरना बनाउनका लागि कर्णाली प्रदेश सरकारले एक करोड ९४ लाख रूपैयाँ निकासा गरेको छ। ‘अहिले एसपीको कमाण्डमा ५० जना प्रहरी टोली गुमीमा छ,’ उनले भने, ‘संरचना बनाएर दशैं लगत्तै बाँकेमा रहेको गण सुर्खेतमा सार्छौं।’

प्रहरीले दैलेखको राकममा गण स्थापनाका लागि जग्गाको खोजी गरिरहेको छ। ‘गणमा रहेका प्रहरी कर्मचारीलाई दंगा नियन्त्रण, विपद्लगायतका कार्यमा खटाउने गरिएको छ,’ डिआइजी ढकालले भने, ‘कर्णालीको ठूलो भूगोलका कारण एउटै ठाउँमा गण राखेर सबैतिर खटाउन नसकिने भएकाले तीन क्षेत्रमा गणलाई विभाजन गरिएको हो।’ रुकुम पश्चिममा रहेको गणले सल्यान, जाजरकोट र डोल्पासम्म हुने दंगा, विपद्लगायतका क्षेत्रमा काम गर्नेछ भने दैलेखको राकममा स्थापना हुने गणले साविकको कर्णालीका कालिकोट, जुम्ला, मुगु र हुम्ला हेर्नेछ।

यस्तै, लुम्बिनीमै रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सार्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तालिम केन्द्र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघा जग्गामा स्थानान्तरण हुनेछ। बनको जग्गा प्राप्तिका लागि फाइल गृह मन्त्रालय हुँदै संघीय बन मन्त्रालयमा पुगेको छ। सम्भवतः दसैंअघिनै जग्गा प्राप्तिको काम सकिने छ।

बहालवाला प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारीहरू र अमर प्रहरीका बालबालिकालाई पठनपाठनका लागि स्थापना गरिएको नेपाल पुलिस स्कुल लुम्बिनीबाट सुर्खेतमा आइसकेको भए पनि भाडाको भवनमा पठनपाठन भइरहेको छ।  

दसैंलगत्तै कर्णाली प्रदेश प्रहरी गणको नाममा रहेको वीरेन्द्रनगर–५ चिसापानीस्थित जग्गामा भवन निर्माणको काम सुरु हुनेछ।

कारागार कार्यालयनजिकैको चार बिघा जमिन मध्ये दुई विघा जमिनमा प्रहरी स्कुल निर्माण हुँदैछ। सोही ठाउँको एक बिघा जमिनमा नेपाल प्रहरी प्रदेश कार्यालय र बाँकी रहेको जमिनमा प्रहरीको केनाइन शाखाको संरचना निर्माण गरिने डिआइजी ढकालले जानकारी दिए।

प्रहरीका सबै संरचना चाँडै  कर्णालीमा ल्याउँछौं: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले लुम्बिनीमा रहेका प्रहरीका संरचनाहरू चाँडै कर्णालीमा ल्याइने बताए। उनले जग्गा प्राप्तिलगायतका कारणले प्रहरीका संरचना आउन केही ढिला भएको बताउँदै अब चाँडै ती कार्यालयहरू कर्णालीमा आउने बताए। ‘नेपाल प्रहरी विशेष सुरक्षा गण दसैंअघि नै सार्ने गरेर संरचना निर्माण भइरहेका छन्,’ गुमीमा गण स्थापनाका लागि भइरहेका संरचना निर्माणको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘प्रहरीका अरू संरचना पनि केही समयमै कर्णालीमा स्थानान्तरण हुन्छन्।’ खड्काले पञ्चपुरीमा स्थापना हुने प्रहरी तालिम केन्द्रको जग्गा प्राप्तिको काम भइरहेको बताए। ‘फाष्ट ट्र्याकबाट काम भइरहेको छ, प्रहरीलाई बनको जग्गा दिने विषयको प्रस्ताव केही दिनभित्रै मन्त्रिपरिषद्मा आउँछ,’ उनले भने, ‘जग्गा प्राप्तिलगत्तै तालिम केन्द्रका लागि आवश्यक संरचनाहरू निर्माण हुन्छन्।’

उपप्रधानमन्त्री खड्काले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई तीनवटा जिल्लामा विभाजन गरिएको जानकारी दिए। ‘ठूलो भूगोलका कारण सुर्खेतमा गण राखेर कर्णालीका सबै ठाउँमा आवश्यक परेको बेला प्रहरी जनशक्ति पु¥याउन सम्भव छैन,’ उनले भने, ‘त्यसैले सुर्खेतसहित रुकुम पश्चिमको चौरहजारी र दैलेखको राकममा विशेष सुरक्षा गण स्थापना हुँदैछ।’ रामक कर्णाली राजमार्गमा पर्छ भने चौरजहारी भेरी करिडोरअन्तर्गत पर्छ।

प्रकाशित: ३० आश्विन २०८० ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App