२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

बीआरएफको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमवार चीन प्रस्थान गरेका छन्।

मङ्गलवार र बुधवार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिने छन्।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआङ्ग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत छन्। उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुनेछ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन्। सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बुझिएको छ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो। बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पु¥याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख  अनिल पोखरेल लगायतका छन्।

प्रकाशित: २९ आश्विन २०८० ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App