६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संखुवासभा : लोकतान्त्रिक गठबन्धन बलियो

धनकुटा- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभामा चुनावी चहलपहल बढ्न थालेको छ । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो जिल्लामा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ ।
दुवै गठबन्धनबाट पुराना र राष्ट्रिय राजनीतिमा दखल राख्ने व्यक्तिहरु उम्मेदवार बनेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का मुख्य प्रतिस्पर्धी छन् ।
चैनपुर नगरपालिका निवासी गौतम एमाले सल्लाहकार परिषद् सदस्य हुन् । उनी अहिलेसम्म कुनै लाभको पदमा पुगेका छैनन् ।
लोकतान्त्रिक गठबन्धनमा उम्मेदवार बनेका खड्का निवर्तमान सांसद हुन् । धर्मदेवी नगरपालिकानिवासी खड्का पूर्वसिँचाइ राज्यमन्त्री हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नं. २ मा यी दुवै उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा खड्काले गौतमलाई ३७० मत अन्तरले पराजित गरेका थिए ।
उनीहरूबीच दोस्रो पटक हुन लागेको भिडन्त निकै रोचक छ । त्यसैले कसले जित्छ भनेर आममतदातामा चासो बढेको छ ।  
दुवै उम्मेदवारले आफंैले जित्ने दाबी गरेका छन् । एमाले उम्मेदवार गौतमले फरक वाम गठबन्धन इमानदारपूर्वक कार्यान्वयनमा लागेकाले आफले सजिलै चुनाव जित्ने दाबी गरे । स्थानीय तहको निर्वाचनमा ५ स्थानीय तहको प्रमुख जितेको कांग्रेसले २७ हजार ४६० मत पाएको छ ।  राप्रपाले सबै तहमा गरी ९९८ मत पाएको छ । यी दुवै मत जोड्दा लोकतान्त्रिक गठबन्धनसँग  २८ हजार ४५८ मत छ ।
पाँच स्थानीय तहमा प्रमुख जितेको एमालेले २७ हजार १४७ मत पाएको छ । कुनै तह नजितेको माओवादी केन्द्रले ६ हजार ४७७ मत पाएको छ । यी दुवै पार्टीले पाएको मत जोड्दा वाम गठबन्धनसँग ३३ हजार ६२४ मत छ । समग्रमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ५ हजार १६६ मतले अगाडि देखिन्छ ।
 जिल्ला निर्वाचन कार्यालय संखुवासभाले दिएको जानकारीअनुसार प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, संघीय समाजवादी फोरमका भवानीप्रसाद राई, राष्ट्रिय जनता पार्टी नेपालका ललित गुरुङ, एकीकृत राप्रपा (राष्ट्रवादी) का गोपालराज पौडेल, ग्रिन पार्टी नेपालका टंक न्यौपाने, नयाँ शक्ति पार्टीका फरेन्द्र शर्मा दाहाल, मंगोल नेसनल अर्गानाइजेसनका नरेन्द्रराज राई र स्वतन्त्र उम्मेदवार गुप्तबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् । वाम र लोकतान्त्रिक गठबन्धनका कारण उनीहरुको उम्मेदवारी फिक्का देखिएको छ ।

असन्तुष्ट समूहको चिन्ता
वाम र लोकतान्त्रिक गठबन्धनका दुवै उम्मेदवारलाई आफ्नै पार्टीभित्रका असन्तुष्ट कार्यकर्ताबाट असहयोग हुने खतरा रहेको छ । लोकतान्त्रिक गठबन्धनमा उम्मेदवार बनेका खड्का र पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङबीच लामो समयदेखि बेमेल छ । दुवै जना प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस भएका थिए । खड्काविरुद्ध बागी बनेका कांग्रेस जिल्ला सचिव मुक्ति राईले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमाले उम्मेदवार गौतमलाई पनि आफ्नै नेताकार्यकर्ताले असहयोग गर्ने खतरा रहेको छ । गौतमविरुद्ध पाँचखपन गाउँपालिकाका एमाले नेता गुप्तबहादुर श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । उनले मत पाए गौतमलाई चुनाव जित्न फालमको चिउरा हुनेछ । श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि निर्वाचन कार्यालयमा उनको उम्मेदवरी र चुनाव चिह्न कैंची कायमै छ । २०७० को संविधानसभा निर्वाचनमा पनि स्थानीय कार्यकर्ताको असहयोगले गौतम पराजित भएको निष्कर्ष एमालेको छ । यीबाहेक दुवै उम्मेदवारलाई गठबन्धन दलको मत आउँछ कि आउँदैन भन्ने चुनौतीसमेत रहेको छ ।

प्रदेशका दुवै क्षेत्रमा तीव्र प्रतिस्पर्धा
संखुवासभा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभा (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका पूर्णप्रसाद राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टंक राई उम्मेदवार बनेका छन् । २०५६ सालको संसदीय निर्वाचन विजयी टंक राई खाँदबारी नगरपालिकाका बासिन्दा हुन् भने २०६४ को संविधानसभा निर्वाचनमा विजयी पूर्णप्रसाद राई मकालु गाउँपालिका निवासी हुन् । ६ वटा स्थानीय तहमध्ये गत स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले खाँदबारी नगरपालिका, सभाखोला  मकालु गाउँपालिका जितेको थियो । यो क्षेत्रमा वाम गठबन्धनको १६ हजार ३१० मत छ । सिलिचोङ, भोटखोला र चिचिला गाउँपालिका गरी तीनवटा गाउँपालिका जितेको लोकतान्त्रिक गठबन्धनसँग १४ हजार ३०६ मत रहेको छ । समग्रमा दुई हजार ४ मतको अग्रता रहे पनि वाम गठबन्धन सहज छैन ।
प्रदेश (ख) मा वाम गठबन्धनबाट पूर्वजिविस सभापति भइसकेका एमालेका तुलसी न्यौपाने उम्मेदवार छन् । लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका युवा नेता दीपक लिम्बु उठेका छन् । एमालेका न्यौपाने चैनपुर नगरपालिका र कांग्रेसका लिम्बु धर्मदेवी नगरपालिकाका स्थायी बासिन्दा हुन् । यस क्षेत्रमा रहेका स्थानीय तहमध्ये गत स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको एमालेले चैनपुर र मादी नगरपालिका जितेको छ । कांग्रेसले पाँचखपन  र धर्मदेवी नगरपालिका जितेको छ । यस क्षेत्रमा वाम गठबन्धनमा १७ हजार ३१४ मत छ । लोकतान्त्रिक गठबन्धनमा १४ हजार १५३ मत छ । समग्रमा यस क्षेत्रमा वाम गठबन्धन ३ हजार १६१ मत छ । 

प्रकाशित: २१ कार्तिक २०७४ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App