१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोसीमा दुई कांग्रेस !

सत्तारुढ नेपाली कांग्रेसले कोसी प्रदेशमा मुख्यमन्त्रीको पुनः दाबी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।  

कांग्रेसले मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका दलसहित राप्रपासँग पनि संवाद थाल्ने जनाएको छ । तर कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्नेमा पार्टीका नेताहरूबीचमै विवाद छ । सभापति देउवा, नेता कृष्णप्रसाद सिटौलासहित नेताहरू प्रदेश संसदीय दलका नेता तथा सभापति उद्धव थापालाई पुनः मुख्यमन्त्रीमा अघि सार्ने पक्षमा छन् । उता कांग्रेसको इतर समूह केदार कार्कीलाई अघि बढाउने तयारी छ । त्यसका लागि विपक्षी एमालेसँग उनीहरूले संवाद सुरु गरेका छन् ।  

नेता शेखर कोइरालासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका बेला कोसीबाट सहकार्यको सुरुवात गर्ने इतर पक्षको रणनीति देखिएको छ । कोसी प्रदेश संसदीय दलको नेता निर्वाचनमा कार्कीका पक्षमा उभिएका सांसद तथा एमाले सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गर्ने इतर पक्षको तयारी देखिएको छ । तर सभापति देउवासहित संस्थापन पक्ष अहिलेको गठबन्धनमा राप्रपालाईसमेत समेटेर सरकार बनाउन सक्रिय भएको छ । त्यसका लागि राप्रपासँग संवाद सुरु गरेको संस्थापन पक्षका एक नेताले दाबी गरे । इतर पक्ष भने राप्रपा थापाको पक्षमा नउभिनेमा ढुक्क देखिएको छ ।  

पार्टी नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका साथै दलका कोसी प्रदेश नेता भक्तिप्रसाद सिटौलाबीचको पुरानो द्वन्द्व छ । थापा सिटौलानिकट भएकाले पनि राप्रपाको समर्थन नहुने कांग्रेस नेताहरूकै दाबी छ ।

कांग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी १ सिट रहेको कोसी प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन एक सिट अपुग देखिन्छ । उनीहरूसँग सरकार गठनका लागि आवश्यक पर्ने ४७ सांसद रहे पनि एमालेबाट निर्वाचित उपसभामुखले प्रदेशसभा बैठकको अध्यक्षता नगरेर बिदा बसेपछि मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका थापाले विश्वासको मत पाउन असफल भएका थिए । एमालेका साथै राप्रपाबाट बैठक सञ्चालनका लागि गठन भएको अध्यक्ष मण्डलका सदस्य बिदामा बसेका थिए । प्रदेशसभाको अध्यक्षता गरेका सदस्यसमेतको मतबाट विश्वासको मत लिए पनि अदालतले त्यसलाई बदर गरिदिएको थियो ।  

त्यसपछि प्रदेशसभाको ठूलो दल एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर उनले पनि विश्वासको मत पाउने अवस्था नभएपछि असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अन्तर्गत सरकार गठनको आह्वान गरेका छन् । उनले असोज २६ गतेसम्मका लागि सरकार गठनको समयसीमा तोकेका छन् ।

२६ गतेभित्र सभाका कुनै पनि सदस्यले मुख्यमन्त्री दाबी गर्न नसके कोसी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ । त्यसबाट रोक्न र प्रदेशसभा नेतृत्व आफ्नो पक्षमा पार्न कांग्रेसका दुवै पक्ष मात्र नभएर माओवादी केन्द्र पनि लागि परेको छ । कांग्रेस उम्मेदवारलाई दुई पटक समर्थन गरिसकेको जनाउँदै माओवादीले अब आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गर्दैै आएको छ ।  

यसैबीच कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले कोसी प्रदेश सरकारसहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेको छ । कांग्रेसले असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमियामा प्यालेस्टिनी हमास समूहको क्रूरतापूर्ण एवं आतंककारी आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीप्रति शोक व्यक्त गरेको छ । 

आक्रमणमा परी घाइते नेपालीको उपचार तथा उद्धारमा सक्रिय हुन र सम्पर्कविहीन रहेकाको खोजीलाई तीव्र बनाउन सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । हमासको आक्रमणमा परी उपचाररत दाङका प्रवीण डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।  

प्रकाशित: २४ आश्विन २०८० ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App