२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

शव ल्याउन सहजीकरण गरिदिन परराष्ट्रमन्त्री साउदले गरे समकक्षी कोहेनसँग आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए।

‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ। उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल जानुभएको थियो। दुःखद घटनाले गर्दा उहाँहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित हुनुहुन्छ।’

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल ल्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।

‘महामहिमज्यू, अब हामीले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शवहरु नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’ 

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे। उनले आक्रमण पछि सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उहाँहरुको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने, ‘एक जना नेपाली अझै सम्पर्कबिहिन छन्। उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिन लगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे। उनले इजरायल अहिले कठिन मोडमा रहेको पनि बताए।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए। 

प्रकाशित: २३ आश्विन २०८० १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App