कास्की- माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनाव पनि सम्पन्न गराउन सरकारमा बसेको उनको भनाई छ।
‘चुनाव जसरी भएपनि गर्नुपर्छ,’ उनले भने, ‘चुनावकै सुनिश्चितताको लागि सरकारलाई समर्थन गरेका हौँ, मनोनयन दर्तापछि हेरफेर गर्न सकिन्छ।’
शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव हुनेमा अब कुनै आशंका नरहेको उनले बताए। निर्वाचन आयोगले पनि सोही अनुरुपको तयारी गरिरहेको उनले बताए।
मुलुकमा अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा पनि आफु छोटो समयमा लागि प्रधानमन्त्री बन्दा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै दाहालले अबको निर्वाचन पश्चात मुलुकले राजनीतिक स्थायित्वको सरकार पाउने बताए।
‘म नौ महिना प्रधानमन्त्री बन्दा, स्थानीय तहको निर्वाचन सम्पन्न गराएँ,’ उनले भने, ‘मुलुकको विकासका लागि राजनीतिक स्थायित्व जरुरी छ र निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ।’
वाम एकताको सन्दर्भमा भने उनले यसबाट नेपाली कांग्रेस हडबडाएको टिप्पणी गरे । ‘वाम एकता एक स्वभाविक प्रक्रिया हो, कोही अत्तालिनुपर्ने जरुरी छैन्,’ उनले भने, ‘वाम एकतापछि कांग्रेसले पनि अन्य दलसँग गठबन्धन गरेको छ जुन मुलुकको लागि राम्रो हो।
आफ्नो प्रधानमन्त्रीत्वकालमा उनले कांग्रेसलाई गुन लगाएको बताए । पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको दाहालले बताए । ‘कांग्रेसलाई गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत आउनुभएको छ ।’
खास समयमा खास नेताले ठोस निर्णय गर्नसके मुलुकले गति लिने पनि उनको भनाई थियो । ‘गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री रहेको समयमा संविधानसभाको चुनाव नगराएको भए अहिलेसम्म पनि संविधान आउँदैनथ्यो, त्यतिबेला उहाँले नेपाली कांग्रेस हार्ने जान्दाजान्दै पनि चुनाव गराउनुभयो, उहाँको पार्टी हार्यो तर जनताले जिते’, उनले थपे ‘मैले स्थानीय तहको चुनावमा पनि आफ्नो पार्टीको परिणामको बेवास्ता गरेर चुनाव गराएकै कारण जनताले अधिकारसम्पन्न स्थानीय तह पाएका छन् ।’ मुलुकलाई अगाडि बढाउन अर्जुनदृष्टि लिएर लाग्नुपर्ने उनको सुझाव थियो।
पत्रकार सम्मेलनमै प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै शनिबारसम्ममा सबै टुंगो लगाइने बताए । ‘पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा सहज तरिकाले शतप्रतिशत टिकट टुंगो लगाएका छौँ,’ उनले भने, ‘शनिबार सम्ममा बाँकी ४५ जिल्लाका उम्मेदवार पनि ९० प्रतिशत समझदारीमा टुंगो लगाउँछौँ ।’ भागबण्डाका आधारमा कसैको चित्त दुखेतापनि मुलुकमा स्थायित्वका लागि सबै एक भएर लाग्न उनले कार्यकतालाई आग्रह समेत गरेका थिए ।
प्रकाशित: १० कार्तिक २०७४ १३:०५ शुक्रबार