२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ब्रिटिस गोर्खाका समस्यामा छलफल

मन्त्री खड्का र राजदूत फेन

नेपालका लागि बेलायतका राजदूत रोब फेनले बिहीबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालय पुगेर राजदूत फेनले रक्षामन्त्री खड्कासँग भेट गरेका हुन्।

भेटमा रक्षामन्त्री खड्काले नेपाल र बेलायतबीचको ऐतिहासिक एवं घनिष्ठ सम्बन्धलाई अझै फराकिलो र मजबुत बनाउन राजदूत फेनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिकका समस्या समाधानका विषयमा पनि कुरा गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।

‘शिष्टाचार भेटवार्तामा उहाँ (रक्षामन्त्री खड्का) ले सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सनलगायतका सुविधा उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो,’ प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। द्विपक्षीय हित र जनस्तरसम्म सम्बन्ध स्थापित गर्ने विषयमा पनि रक्षामन्त्री खड्काले चासो देखाएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ‘भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदानप्रदान लगायत विषयमा समेत छलफल भयो।’

भेटमा राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा आपसी सम्बन्धले नयाँ उचाइ लिएको बताए।

नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापनामा पुर्‍याएको योगदान विशिष्ट रहेको चर्चा गर्दै राजदूत फेनले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ।

‘उहाँ (राजदूत फेन) ले आफ्नो कार्यकालमा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राख्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ आश्विन २०८० ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App