९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

हेटौंडा- उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले निर्वाचन सुनिश्चित गर्न मात्रै आफुहरु सरकारमा गएको दाबी गरेका हुन् । सत्तारुढ दल नेकपा माओवादी प्रतिपक्षी दल नेकपा एमालेसँगको गठबन्धनमा गएपनि निर्वाचन धरापमा पर्ने देखिएपछि आफु सरकारमा जानु आवश्यक देखेको  उनले बताए।

सत्ताकै लोभले आफ्नो पार्टी र आफुलाई सत्तामा गएको आरोप लाग्ने गरेको भए पनि त्यो साँचो नभएको जीकीर गरे। थापाले राजनैतिक स्थिरता र निर्वाचन समयमै हुने सर्तमा मात्रै सरकारमा सामेल भएको बताए ।

मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै उनले केन्द्रीय अध्यक्ष भएका नाताले देशभर पुग्नुपर्ने बाध्यतालाई बुझिदिन समेत आग्रह गरे । हेटौँडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्दै बैकल्पिक शक्तिको खाँचो राष्ट्रिय राजनीतिमा आवश्यक पर्ने भएकाले राप्रपाको विजय आवश्यक रहेको उनको भनाई थियो ।

जिल्ला अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपकबहादुर सिंह, मधु अधिकारी, पूर्व केन्द्रीय सदस्य नवराज विष्ट, पूर्व जिल्ला अध्यक्ष रामहरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कुलेखानी तेस्रो समयमै सक्न निर्देशन

कार्यक्रममा सहभागी हुनु अघि मकवानपुरमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्यूत आयोजनाको अवलोकनका लागि उपप्रधान तथा उर्जा मन्त्री थापासहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ मकवानपुरको भैँसेमा पुगेका थिए।

अनुगमनको क्रममा उर्जा मन्त्री थापाले काम द्रुत गतिमा अघि बढाउँदै छिट्टै सम्पन्न गर्न आयोजनाका पदाधिकारीहरुलाई निर्देशन दिए। उनले नेपालमा लोडसेडिङ हुन नदिने कार्यमा कुलेखानी तेस्रो जलविद्यूत आयोजनको ठूलो योगदान रहने बताए।

 

प्रकाशित: ७ कार्तिक २०७४ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App