५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले गण्डकी अधिवेशन: निर्देशन लत्याउँदै पिएस र केआर प्यानलसहित चुनावी मैदानमा

एमाले गण्डकीको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका नवराज शर्मा र मायानाथ अधिकारी।

नेकपा एमाले गण्डकीमा नयाँ नेतृत्वका लागि प्यानलसहित चुनाव लड्ने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानलसहित चुनाव लड्न नदिन प्रदेशको चुनाव गराउन खटिएका नेताहरुलाई निर्देशन दिएका थिए।  

सोहि अनुरुप गण्डकीमा पनि प्यानलसहित चुनाव लड्न निषेध गरिएको थियो। एमाले गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले प्यानलसहित चुनाव लड्न नपाइने बताएका थिए। उनले भनेका थिए,।।।प्यानल खडा गरेर चुनाव लड्न पाईंदैन र दिईदैन। अस्वस्थ प्रतिस्पर्धा गर्ने, प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई दिईदैन र त्यो छुटपनि छैन।’

तर केन्द्रको निर्देशन लत्याउँदै पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर) समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्। केन्द्रमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट भएझैं गण्डकीमा पिएस र केआर गुट छ। पिएसलाई विष्णु पौडेल र केआरलाई शंकर पोखरेलको साथ छ। यद्वपी केआरलाई सघाउन पोखरेल आफै आउँदा पिएसलाई सघाउन पौडेल भने पोखरा आएनन्।

केन्द्रमा विष्णु र शंकरजस्तै गण्डकीमा पिएस र केआर गुटबीच को बलियो भन्ने लडाईं छ। गण्डकीका पूर्व मुख्यमन्त्री द्वय पिएस र केआर फेरी आमनेसामने भएका हुन्। दुई गुटको लडाईं चलिरहँदा पूर्व माले पृष्ठभूमिका किरण गुरुङ र पद्मा अर्यालले तेश्रो धारको अभ्यास गरेका छन्। उनीहरु जता खुल्छन् त्यतै पल्ला भारी हुने अनुमान गरिएको छ। यधपी पिएस गुटले किरण र पद्माको साथ आफूतिर रहेको दाबी गरेका छन्। तर गुरुङ स्वयम् भने डेंगु भएको कारण देखाउँदै अधिवेशन स्थलमा आएका छैनन् भने पद्मालेपनि आफू साझा व्यक्ति भएको भन्दै अधिवेशन स्थल छाडेकी छन्।

दुई दिनसम्मको सहमतिको प्रयास बालुवामा पानी हालेसरह भएपछि बुधबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ। मंगलबारदेखि नै निर्वाचन प्रक्रिया शुरु गर्ने भनिएपछि सहमतिको नाममा एक दिन ढिला शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार उम्मेदवारी दर्ता भएको छ। जसमा पिएस र केआर दुबै समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।

पिएस समूहबाट अध्यक्षमा हालका तदर्थ समितिका अध्यक्ष नवराज शर्मा (म्याग्दी)ले उम्मेदवारी दिएका छन् भने केआर समूहबाट मायानाथ अधिकारी (लमजुङ)ले उम्मेदवारी दिएका छन्। मायानाथ हालैमात्र पिएस गुट छाडेर केआर गुटमा भित्रिएका हुन्। पिएस गुटले नवराजलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि बिच्किएर उनी केआर गुटमा समाहित भएका हुन्।

पिएस गुटबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ र केआर गुटबाट बाबुराम विक, सचिवमा पिएस गुटबाट धनञ्जय दवाडी र केआर गुटबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गरेका छन्। केआर गुटबाट उम्मेदवारी दिएका आचार्य पनि हालैमात्र पिएस गुट त्यागेर केआर गुटमा भित्रिएका हुन्। उपसचिवमा पिएस गुटबाट दामबहादुर विक, केआर गुटबाट सन्तोष रावल र अर्जुनकुमार सुनामले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै महिलातर्फको उपसचिव पदमा पिएस गुटबाट मञ्जु अधिकारी प्यासी र केआर गुटबाट मीना गुरुङले उम्मेदवारी दर्ता गरेका छन्।

एमाले गण्डकी १६५ सदस्यीय छ। जसका लागि ३८२ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ। सदस्यमा पिएस र केआर गुटबाहेकपनि स्वतन्त्र उम्मेदवारी परेको छ।

नयाँ नेतृत्व छान्न बिहीबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुरेन्द्र थापा मगरले जानकारी दिए। मतदानमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ। मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन कमिटीको तयारी छ। भोटिङ मेसिनको प्रयोग भएकाले तत्कालै परिणाम आउने बताइएको छ।

एमाले गण्डकीको अधिवेशनमा ९०७ जना प्रतिनिधि छन्। नेकपा एमाले गण्डकीका ईञ्चार्ज गोकर्ण विष्टले सहमति गर्ने समय अझै टरिनसकेको बताएका छन्। निर्वाचन प्रक्रियाकाबीच सहमतिको प्रयास भइरहेको उनको भनाई छ। ।।।यो बिचमापनि सहमति हुनसक्छ। त्यसो भयो भने निर्वाचन रोकेर सर्वसम्मत नेतृत्व घोषणा गर्छौं’उनले भने।

प्रकाशित: १७ आश्विन २०८० १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App