२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले गण्डकी अधिवेशन: अध्यक्षका लागि पिएस र खगराज आमनेसामने हुने

एमाले गण्डकी अध्यक्षका दाबेदारहरु नवराज शर्मा र मायानाथ अधिकारी।

नेकपा एमाले गण्डकी प्रदेशको नया नेतृत्व छान्न बुधबार भोलि चुनाव हुने भएको छ। एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ। निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार बिहान १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र दिउँसो १ बजेदेखि चुनाव हुने जानकारी दिए।

सोमबार उद्घाटन भएर शुरु भएको एमाले गण्डकीको प्रथम अधिवेशनमा बुधबारदेखि चुनावी प्रक्रिया शुरु हुने छ। निर्वाचन कमिटीले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया शुरु भएको जनाएको हो। चुनावी प्रक्रिया शुरु भएपछि पार्टीका शीर्ष नेताहरुले सहमतिका लागि थप समय चाहियो भनी माग गरेपछि थप समय दिइएको निर्वाचन समितिले जनाएको छ। सहमतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि गण्डकी ईञ्चार्ज गोकर्ण विष्टसम्मले दबाब दिएका छन्। प्यानल नै बनाएर चुनाव लड्दा विभाजनको रेखा कोरिने भएकाले सहमतिलाई जोड दिइएको पार्टीका सचिव तथा गण्डकी ईञ्चार्ज विष्टले बताए।

एमाले गण्डकीमा नया नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून छ। गण्डकीमा खास गरेर  उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर)को दुई समूहबीच टकराव छ। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री द्वय गुरुङ र अधिकारीबीच को बलियो भन्ने जुंगाको लडाईं भएकालेपनि नया नेतृत्वका लागि चुनाव हुने निश्चित जस्तै छ। गण्डकीमा रहेको उपमहासचिव पिएसलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख केआरलाई एमाले महासचिव शंकर पोखरेलको साथ छ।

एमाले गण्डकीको नेतृत्वका लागि दुबै समूहले चुनाव लड्नका लागि टिम तयार गरेका छन्। नेतृत्वले प्यानल बनाएर चुनाव लड्न निशेध गरेपनि पिएस र केआर समूहले प्यानल लिष्ट नै तयार गरेर चुनाव लड्ने तयारी गरेका छन्। पिएस समूहले नवराज शर्मालाई अध्यक्षका रुपमा अगाडि बढाएको छ भने सचिवमा धनञ्जय दवाडीलाई अगाडि सारेको छ। शर्मा वर्तमान तदर्थ समितिका अध्यक्ष र दवाडी सचिव हुन्। केआर समूहले भने अध्यक्षमा मायानाथ अधिकारी र सचिवमा रश्मि आचार्यलाई अगाडि सारेको छ। मायानाथ र रश्मि दुबै पिएस समूहबाट हालैमात्र केआर समूहमा समाहित भएका हुन्।

दुबै समूह आफूले अगाडि सारेको व्यक्ति भए सर्वसम्मत नेतृत्व चयन गर्ने, नभए चुनावी प्रतिष्पर्धामा जाने बताउँछन्। दुबै समूह निकट श्रोत भन्छ,।।।सर्वसम्मतको नाम जप्ने तर चुनावी तयारी गर्ने काम भइरहेको छ।’

दुई समूहको लडाईंमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल भने मौन बसेका छन्। कसलाई सहयोग गर्ने भन्नेमा उनीहरु दुविधामा छन्। व्यक्तिगत रुपमा मायानाथलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा भएपनि त्यता लाग्दा केआर गुट भनेर प्रचार हुने भय उनीहरुमा रहेको श्रोत बताउँछ। सचिव अर्यालको भनाई कोट गर्दै एक प्रतिनिधिले भने,'केआर भन्दा त हामी सिनियर हौं। उहाँको गुट भन्न त कसरी सुहाउँछ र?।’

पिएस र केआर दुबै समूहले आफ्नो पक्षले जित्ने दाबी गरेका छन्। पिएस निकट श्रोतका अनुसार कुल ९ सय ७ जना प्रतिनिधिमध्ये ६ सय जना आफ्नो पक्षका रहेको दाबी सो समूहको छ। पिएस समूहमा गण्डकीका अधिकांश केन्द्रीय सदस्य ढल्किएको बताइन्छ। केआर समूहपनि निर्वाचन जित्न आवश्यक मत रहेको दाबी गर्छ। खास गरेर गुट अदलबदल भइरहेको र पिएस समूहका प्रभावशाली व्यक्तिहरु नै आफूतिर आएकाले नतिजा आफ्नो पक्षमा आउने केआर समूहको दाबी छ।

प्रकाशित: १६ आश्विन २०८० १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App