१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोषी गृह प्रशासन!

फेरि कुटिए चिकित्सक

चिकित्सकलाई कुटपिट गरिएको विरोधमा आइतबार काठमाडौंको सिनामंगलमा प्रदर्शन गर्दै स्वास्थ्यकर्मी। तस्बिर: राजीव खत्री/नागरिक

चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्। उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।

चिकित्सकको पर्खाइमा रहेका बिरामीका आफन्तले छिटो उपचार सेवा दिन अनुरोध गर्दा खड्काले भिड नगर्न र पालो पर्खिन भनेपछि आक्रोशित आफन्तले उनलाई कुटेको अस्पतालका जनरल प्रबन्धक नारायण दाहालले बताए।

गुल्मीका २२ वर्षीय रूपक गौतम र सोही जिल्ला घर भई सिनामंगल बस्ने सरोज गौतमले चिकित्सक खड्कामाथि हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले सिसिटिभी फुटेज हेरेर दुईजनालाई पक्राउ गरेको हो।

अरू दिनका तुलनामा आइतबार चाप बढी हुँदा बिरामीले भनेकै समयमा पालो पाएका थिएनन्। इन्टर्न डाक्टरले आफ्नो पालोमा जँचाउन सुझाएपछि एक बिरामीका आफन्तले एक्कासि आएर समातेर भित्तामा लगेर ठोक्काएको प्रबन्धक दाहालले बताए।

चिकित्सक खड्काको बाहिरी घाउ खास नभए पनि भित्री रूपमा दुखाइ बढी भएको उनले जानकारी दिए। घटनालगत्तै काठमाडौ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, किस्ट मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय महाराजगन्जसहित उपत्यकाका शिक्षण अस्पतालका इन्टर्न डाक्टरहरू विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले काठमाडौं मेडिकल कलेज हुँदै चक्रपथ परिक्रमा गरे।

सोमबार उपत्यकामा अन्य अस्पतालका बहिरंग सेवा पनि बन्द गरेर चिकित्सकहरूले आन्दोलनका थप कार्यक्रमस्वरूप विरोध प्रदर्शन गर्ने अस्पताल प्रशासनले जनाएको छ। डेढ वर्षअघि पनि उक्त अस्पतालमा उपचारका लागि पुगेका बिरामीकोे मृत्युपछि आफन्तले विरोध प्रदर्शन गरेका थिए।

आइतबार घटना भएको जानकारी पाएलगत्तै सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका एसएसपी कुमुद ढुंगेलका अनुसार पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको छ।

काठमाडौ मेडिकल कलेजसहित नेपालभरमा एक महिनाको अवधिमा एक दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको चिकित्सक आन्दोलनका संयोजक शेषराज घिमिरेले बताए।

सरकार र आन्दोलन पक्षबीच वार्ता भएको एक दिन नबित्दै अर्को चिकित्सक कुटिनुले समाज नै नकारात्मक दिशातर्फ उन्मुख भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताए। बिरामीले अस्पताल पुग्नेबित्तिकै नपर्खीकन सेवा पाउनुपर्छ भन्ने मानसिकताको परिणाम डा. खड्का कुटिएको उनले बताए।

‘खास गरी मेडिकल कलेजहरूमा बिरामी जाँच्ने डाक्टरको जिम्मेवारी वार्डका बिरामी हेर्ने, विद्यार्थी पढाउने र बिरामी जाँच्ने भएकाले समयमा बहिरंग विभागमा पुग्न सक्दैनन्। कहिलेकाहीँ भनेकै समयमा डाक्टर बहिरंग विभागमा नहुन सक्छन्,’ उनले भने। आपतकालीन अवस्था देखिएमा आकस्मिक सेवाको व्यवस्था भएकाले बिरामी त्यता गएर सेवा लिन सकिने उनले बताए।

स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेहरूलाई सरकारले उचित कारबाही नगरेको र कारबाही गरेको विषय सार्वजनिक नगरेको हुँदा अस्पताल आउनेहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने मनोबल बढेको अध्यक्ष कार्कीको भनाइ छ।

भदौ २९ यता काठमाडौं मेडिकल कलेजका खड्कासहित ११ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भौतिक आक्रमण भइसकेको नेपाल चिकित्सक संघले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८० ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App