२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भित्रभित्रै आन्दोलनको तयारीमा जसपा!

गौरकाण्ड अनुसन्धान ब्युँताउन गृह मन्त्रालयले आन्दोलनमा उत्रिएकाहरूसँग सहमति गरेपछि सरकारसँग झस्किएको जनता समाजवादी पार्टी (जसपा)ले भित्रभित्रै आन्दोलनको तयारी सुरु गरेको छ।

जसपाले यही भदौ ३ देखि मंसिर ३ गतेसम्म तीन महिने देशव्यापी अभिमुखीकरण कार्यक्रमको घोषणा गरेको छ। देशव्यापी कार्यक्रम घोषणा गरे पनि मधेस प्रदेश गरिएको कार्यक्रमलाई जसपाका नेताहरूले प्राथमिकतामा राखेका छन्।

जसपाका अनुसार नाम जे राखे पनि अभिुमखीकरण कार्यक्रमको उद्देश्य र प्रकृति आन्दोलनको तयारी गर्नु हो। अभिमुखी कार्यक्रममा पार्टीका सबै भ्रातृ संगठन, वडा कमिटीदेखि केन्द्रसम्म आवद्ध रहेका सबै कार्यकर्तालाई सक्रिय रूपमा प्रयोग गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए।

प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनले बारम्बार भन्ने गरेका छन्, ‘तपाईहरू आन्दोलनका लागि तयार भएर बस्नुहोस्। कुनै पनि बेला हामी आन्दोलनमा उत्रनुपर्ने हुन्छ।’

अभिमुखी कार्यक्रममा यादव मात्र एक्लै सक्रिय छैनन्। उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएका छन्। अभिमुखी कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले गौर घटना सम्बन्धमा गृह मन्त्रालयले आन्दोलनकारीसँग गरेको सम्झौताको प्रसंग उठाउन गरेका छन्। सरकारले गौर घटना ब्युँझाएर मधेसमा द्वन्द्व निम्त्याउने खोजेको आरोप उनले लगाउने गरेका छन्।

जसपाका कार्यकारिणी समितिका सदस्य तथा यादवसँग निकट नेता मृगेन्द्रसिंह यादवले कार्यकर्तालाई उत्साहित बनाइराख्न अभिमुखी कार्यक्रममा पार्टी अध्यक्षले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन गरेको बताए। ‘हामी त सधैं आन्दोलनमा छाैं। माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ यादवले भने, ‘तर पार्टी अध्यक्षज्यूले यतिबेला कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउन आन्दोलनको तयारी गर्नुहोस् भन्ने गर्नुभएको हो।’  

जसपाका प्रवक्ता सुमनका अनुसार केन्द्रले सातवटै प्रदेश समितिलाई अभिमुखी कार्यक्रमको कार्यतालिका बनाउन निर्देशन गरेको छ। ‘जसअनुसार मधेस प्रदेश समितिले भदौ ३१ देखि असोज ७ सम्म अभिमुखी कार्यक्रमको कार्य तालिका बनाएको छ। यसैगरी, प्रत्येक समितिले छुट्टाछुट्टै कार्यतालिका बनाएका छन्।’

पार्टीको संगठन सुदृढीकरण गर्न र पार्टीका कार्यकर्ता पंक्ति सक्रिय बनाउन अभिमुखी कार्यक्रम सुरु गरिएको सुमनको भनाइ छ। पार्टी अध्यक्ष यादव यतिबेला धेरैजसो मधेस प्रदेश पुग्ने गरका छन्। काठमाडौंमा उनी कम बस्ने गर्छन्। काठमाडौं आए पनि एक दुई दिनमै मधेस फर्कने गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकरमा ल्याएपछि जसपा अध्यक्ष यादव पार्टी प्रधानमन्त्री दाहालसँग सन्तुष्ट छैनन्। दाहालले बोलाएका धेरैजसो सबै सर्वदलीय बैठकमा यादव सहभागी हुने गरेका छैनन्। उनले आफू काठमाडांैमै भएर पनि बैठकमा पार्टीका अर्का नेतालाई पठाउने गरेका छन्।

जसपा स्रोतका अनुसार जनमतलाई सरकारमा नल्याउन यादवले प्रधानमन्त्रीलाई सल्लाह दिएका थिए। तर प्रधानमन्त्रीले यादवको सल्लाह लत्याउँदै आफ्नो भागमा परेको एउटा सिटसमेत काटेर जनमतलाई सरकारमा ल्याएका छन्। प्रधानमन्त्रीसँग चिढिए पनि यादवले सरकारबाट जसपाका नेताहरूलाई फिर्ता बोलाएका छैनन्। अहिले सरकारमा जसपाबाट दुई नेता सहभागी छन्।

पोहर साल प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच सम्बन्ध बिग्रिएको छ। तर, प्रधानमन्त्रीले भने जसपाको विकल्पमा जनमत पार्टीलाई सरकारमा ल्याएको जसपाका नेताहरूको बुझाइ छ।

गृह मन्त्रालयले गौर घटनाको अनुसन्धान ब्युँताउन आन्दोलनकारीसँग सम्झौता गरेको केही समयपछि प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकरमा ल्याउएका हुन्। यादव भने यी दुवै घटनासँग प्रधानमन्त्रीसँग सन्तुष्ट छैनन्।

प्रकाशित: ७ आश्विन २०८० ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App