१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी आधार इलाकामा रास्वपाका शीर्ष नेता

रोल्पाको थवाङ पुगेर जनताका आवाज सुन्दै रास्वपाका सभापति रवि लामिछाने। तस्बिर: रास्वपा

रोल्पा नेकपा माओवादी केन्द्रको उद्गमस्थल हो भने कालिकोट प्रभाव क्षेत्र हो। जनसत्ताको केन्द्रीय राजधानी भएको रोल्पामा माओवादीले १० मध्ये सात स्थानीय तहसँगै प्रदेश र संघीय चुनावमा जितेको छ। 

यता कालिकोटका ९ स्थानीय तहमध्ये माओवादीबाट बागी उठेका एक स्वतन्त्रसहित ६ वटामा माओवादी एक्लैले जितेको छ। यस हिसाबले पनि माओवादीले रोल्पा र कालिकोटलाई आधार इलाका मान्छ।

यही आधार इलाकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जन आवाज सुन्ने प्रथम चरणको कार्यक्रम अन्तर्गत पार्टीका शीर्ष नेतालाई परिचालन गरेको छ। बुधबारदेखि १९ जिल्लामा सुरु भएको उक्त कार्यक्रम पश्चिमका आठ जिल्लालाई समेटिएको छ। पश्चिमका आठ जिल्लामध्ये रोल्पा र कालिकोटमा हुने उक्त अभियानलाई महत्वका साथ हेरिएको छ।

जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्। रोल्पामा पूर्व गृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछाने र कालिकोटमा परिचालित महामन्त्री ढकालले प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।

यी जिल्लामा पूर्व जनमुक्ति सेना, अवसरबाट वञ्चित इमानदार माओवादी कार्यकर्ता र तल्लो स्तरका नेताहरु असन्तुष्ट छन्। यही असन्तुष्टिका बिचमा माओवादी आधार इलाकामै शीर्ष नेतृत्व पुग्दा यसलाई रणनैतिक रुपमा महत्वका साथ हेरिएको छ। माओवादीको मत काटेर रास्वपालाई शक्ति आर्जन भएको भन्ने आरोप पनि जनस्तरमा व्याप्त छ। यही आरोपकै बिच रास्वपाले माओवादी आधार इलाकालाई जोड दिएको विश्लेषण हुन थालेको छ।

शान्तिपूर्ण ढंगले कुनै पनि दललाई आफ्नो विचार राख्ने अधिकार भएकाले यसलाई ठुलै अर्थ पूर्णरुपमा नहेरिएको नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक पूर्ण केसीले जनाए।

‘हाम्रो जनता हामीसँगै हुनुहुन्छ। हामी पनि गाउँ अभियानमा छौं,’ उनले भने, ‘रोल्पामा हुने अभियानका विषयमा रास्वपासँग छलफल भएको थियो।’

माओवादीको आधार इलाकामा रास्वपाका शीर्ष नेता नै परिचालन हुनु रणनैतिक हिसाबले महत्त्वपूर्ण भएको राजनीतिक विश्लेषक जनार्दन आचार्यले जनाए।

‘रोल्पा, कालिकोट लगायत माओवादीका आधार इलाकामा नेपाली कांग्रेस, नेकपा एमालेलाई समेत राजनीतिक गतिविधि गर्न सहज छैन,’ उनले भने, ‘यस्तो ठाउँमा रास्वपाले गतिविधि चलाउनु माओवादीका लागि क्षति हुन्छ।’

रोल्पा, कालिकोटमा रास्वपा प्रवेश गर्नु नै उनीहरुको पहिलो रणनीति भएको उनको भनाइ छ। यस रणनीतिमा रास्वपा सफल भएको भन्दै उनले भने, ‘माओवादीका आधार इलाकामा कुण्ठित भएका असन्तुष्टि रास्वपा तिर ढल्किन सक्छ र यसले अन्ततः माओवादीलाई नै राजनीतिकरुपमा घाटा पुर्‍याउँछ।’

रोल्पा, कालीकोटजस्ता माओवादीको आधार इलाका भएका जिल्लामा संघ र प्रदेश चुनावमा धेरै ठुलो प्रभाव नपारे पनि वडा र पालिका स्तरमा यसले प्रभाव पार्न सक्ने उनी बताउँछन्।

रास्वपाका सभापति लामिछाने माओवादीको केन्द्र थवाङमै पुगेका छन्। थवाङबाट उनले भिडियो सन्देश रास्वपाको फेसबुकबाट सार्वजनिक गरेका छन्। रोल्पालाई उनले ऐतिहासिक पनि भनेका छन्। त्यसमा उनले पुराना दलहरु सच्चिन आह्वान गरेका छन्।

‘जनताको सपना परिवर्तन थियो,’ उनले भने, ‘जसका लागि जनता परिवर्तनका लागि होमिए। परिवर्तनका लागि लड्नु दोष होइन। उनीहरु देशका लागि सहिद भए तर, यहाँ जनस्तर उस्तै छ नेता मात्रै फेरिए।’ अरू दल र रास्वपाबीचको फरकबारे उनले भिडियोमा सन्देश दिएका छन्।

कसैको आधार इलाकामा राजनैतिक प्रभाव पार्न नभई सामाजिक र आर्थिक हिसाबले पछाडि परेका जिल्लालाई अलिकति जोड दिइएको  रास्वपाका केन्द्रीय सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाए।

‘आर्थिक, सामाजिक, त्यहाँका नागरिकका कुरा र समस्या सुन्ने र पार्टीमा रिपोर्टिङ गर्ने मात्र गर्न अभियानमार्फत गाउँ केन्द्रित भएका छौं,’ उनले भने, ‘पार्टीले बनाउने नीति कार्यक्रममा नागरिकको आवाजलाई समेट्छौं।’

त्यसैले कुनै पार्टीको आधार इलाका छ या छैन भन्दा पनि आम नागरिक आर्थिक र सामाजिक रुपमा राज्यबाट टाढा रहेकाले उनीहरुको आवाज सुन्न प्राथमिकता दिइएको उनको भनाइ छ। संयोग बस आधार इलाका पर्न गएकाले यसलाई रणनीतिक हिसाबमा जोड्न नहुने उनी बताउँछन्।

असोज ३ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने उक्त अभियान सुदूरपश्चिमका बैतडी, कैलाली, डोटी र कञ्चनपुर, कर्णालीका कालिकोट, सुर्खेत र लुम्बिनीका रोल्पा र कपिलवस्तुमा सञ्चालन भएको छ।

प्रकाशित: ३ आश्विन २०८० १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App