२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुपचुप फेरि थपियो अधिकारीको कार्यकाल

२०७६ असोजमा रथीमा बढुवा भएपछि तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाबाट दर्ज्यानी चिह्न ग्रहण गर्दै यामबहादुर अधिकारी। फाइल तस्बिर: नागरिक

सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई रोकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको अवकाश रोक्न विशेष पदमै तीन वर्ष कार्यकाल थप गरेको हो।

माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्दा सबैभन्दा माथिल्लो दर्जा (कर्णेल) पाएका यामबहादुर अधिकारी (प्रतीक्षा) असोज १ बाट अवकाशमा जानुपर्नेमा अघिल्लो मन्त्रिपरिषदको बैठकले उनको जागिर थमौती गरेको पत्र सैनिक जंगी अड्डालाई पठाइएको थियो। ‘उहाँलाई सहायक रथी पदमै तीन वर्षका लागि विशेष पद सिर्जना गरेर म्याद थपिएको पत्र आइपुगेको छ,’ सैनिक प्रवक्ता एवं सहायरक रथी कृष्णप्रसाद भण्डारीले भने।

सरकारले रक्षा मन्त्रालयलाई पत्राचार गरेर अधिकारीको जागिर थमौती गरेको हो। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा पनि उनको म्याद थप गरिएको विषय भने गुपचुपमा राखिएको थियो। सरकारका तर्फबाट प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले कर्णेल अधिकारीको म्याद थपको विषय सार्वजनिक गरेकी छैनन्। अधिकारीले चार वर्षअघि नै अवकाश पाइसकेका भए पनि त्यतिबेला एमाले–माओवादीको सरकार रहेका बेला विशेष पद सिर्जना गरेर अवकाश हुनबाट जोगाइएको थियो।

२०७६ असोजमा कार्यकाल सकिएको भए पनि सैनिक नियमावलीअनुसार एकपटकका निम्ति सहायक रथीमा पदोन्नति दिन सकिने व्यवस्थालाई टेकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पद सिर्जना गरेर बढुवा गरेका थिए। त्यतिबेला एमाले र माओवादीको संयुक्त सरकार थियो।

तत्कालीन ओली सरकारले त्यसबेला थप गरेको चार वर्षको म्याद अहिलेको सरकारले विशेष व्यवस्था नगरेको भए असोज १ गते अर्थात् सोमबार नै सकिन्थ्यो। असोज १ गते कार्यकाल सकिने अवस्थामा उनी एक महिनाअघि नै घरबिदामा बस्नुपर्ने थियो। तर उनी बिदामा नबसी कार्यालयमा आइरहेका थिए। त्यहीबेला सैनिक नियमावलीमा टेकेर अर्को तीन वर्ष म्याद थप्न सक्ने व्यवस्था पछ्याउँदै सरकारले सहायक रथी अधिकारीको जागिर थमौती गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अमेरिका प्रस्थान गरेपछि असोज १ को म्याद गुज्रनुअघि नै रक्षा मन्त्रालयलाई पत्रचार गरिएको थियो। तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत अधिकारी बनेका थिए। उनलाई २०७६ असोज १ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो।

सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरेको थियो। नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार चार वर्षको पदावधि सकिएपछि उनको पद असोज १ बाट स्वतः खारेज हुनुपर्ने हो। ‘विशेष पद भएकाले उनले स्वतः अवकाशमा जानुपर्ने हुन्थ्यो तर उनको हकमा त्यही विशेष पद यथावत् राखेर म्याद थप गरेको पाइयो,’ नेपाली सेनाका एक अधिकारीले भने।

विद्रोही माओवादी शान्तिप्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए। त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भए। त्यतिबेला शान्तिप्रक्रिया अझै सकिनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनलाई बढुवा गरिएको हुन सक्ने सैनिक अधिकृतहरूले बताएका थिए। किनकि उनले सहायक रथी बन्न चाहिने ‘हाइयर कमान्ड कोर्स’ पूरा गरेका थिएनन्। अहिले पनि उनको त्यो कोर्स पूरा नभएको सैनिक स्रोतको दाबी छ। उनको म्याद थमौतीको प्रस्ताव माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले त्यो विषयमा कुनै पनि प्रतिक्रिया नजाएको मन्त्रिपरिषद् स्रोतले बतायो।

‘प्रधानमन्त्रीको ठाडो प्रस्तावमा उनको विशेष पद तीन वर्षका लागि कायम भयो,’ स्रोतले भन्यो। स्रोतका अनुसार विशेष पद भने एकपटकलाई चार वर्ष कायम गर्न सकिन्छ तर फेरि म्याद थप गर्नुपरे स्वाभाविक भन्दा पनि विशेष पद नै सिर्जना गर्नुपर्ने हुन्छ। एकपटक विशेष पद सिर्जना गरेपछि अवधि सकिँदा स्वतः खारेज हुने र त्यो पदमा अर्को कोही पनि बढुवा हुन नसक्ने हुन्छ।

प्रकाशित: २ आश्विन २०८० ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App