२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुनकाण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

हङकङदेखि मुम्बई सुन पुर्‍याउने भारतीय राकेश सिंह, ब्रेक सुमा ३६० किलो सुन भित्रियो

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।

पछिल्लो पटक साउन ३ गते बरामद ६०.७१६ किलो सुन प्रकरणमा नेपालतर्फका मुख्य व्यवस्थापक दाओजिन वाङ र चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य प्रतिवादी बनाएको सिआइबीले उनीहरूसँग जोडिएका राजनीतिक व्यक्तिहरूलाई भने प्रतिवेदनमा केही उल्लेख नगरी ‘सुनपानी’ छर्केर चोख्याएको हो।

गत पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन र पटकपटक ब्रेक सुमा लुकाएर सुन ल्याउने समूहको नाइके एउटै भएको उल्लेख गर्दै प्रतिवेदनमा दाओजिन वाङलाई मुख्य व्यवस्थापक रूपमा प्रस्तुत गरिएको छ।

सिआइबीले होटल भियनाका सञ्चालक दावा छिरिङलाई सुन तस्करीको मूल बिचौलिया बनाएको छ। तर उनीहरूसँग जोडिएका माओवादी केन्द्रका उच्च नेताहरूबारे भने केही पनि नखुलेको प्रतिवेदनमा छ। तर दावा छिरिङसँग बिहे गरेकी माओवादी केन्द्रनिकट अमल रोकालाई भने प्रतिवादी बनाइएको छ। उनी फरार छिन्।

‘यो अनुसन्धान निरन्तर जारी रहने भएकाले निकट दिनमा राजनीतिक व्यक्तिहरूको संलग्नता देखिए अवश्य पनि छानबिन हुनेछ,’ सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार सिआइबीले पाएको म्यान्डेटका आधारमा मात्रै अनुसन्धान भएको हो। ‘हामीलाई जे म्यान्डेट थियो, त्यसमा पूरापुर अनुसन्धान भएको छ। यसका कनेक्सनहरू खुलाउने र सुन तस्करीको जालो पहिल्याउने काम भएको छ। मुद्दा अदालतमा टेकाउनुपर्ने बाध्यताका कारण अहिलेलाई प्रतिवेदन बुझाइएको हो तर संगठित र अन्तरदेशीय अपराधको अनुसन्धान जारी रहेकाले पछि पनि तथ्य खुल्न सक्ने धेरै बाटा र प्रमाण जुटेका छन्,’ उनले भनिन्।

सिआइबी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट हराएको नौ किलो सुन र विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको सुन एउटै तस्कर समूहको भएको पाइएको छ।

तस्करको त्यो समूहले सुन तस्करीमा माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रयोग गरेको पनि पाइएको थियो। अघिल्लोपटक सुन तस्करीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदा माओवादी केन्द्रका नेताहरूको संलग्नताबारे स्पष्ट खुलाएको थियो। तर यसपटक भने त्यसलाई पुरै लुकाइएको छ। सिआइबीले गरेको अनुसन्धानबाट यो समूहले ३६० किलो ७७८ ग्राम सुन ब्रेक सुमा लुकाएर ल्याएको निष्कर्ष निकालेको छ। साथै यो समूहले अरू विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पूरक अनुसन्धान गर्ने सिआइबीको भनाइ छ। ‘हामी पूरक अनुसन्धानमा जुटेका छौं। त्यही क्रममा राजनीतिक नेतृत्वको संलग्नता खुलेका कारबाही हुन्छ,’ सिआइबी प्रमुख बज्राचार्यले भनिन्।

सिआइबीले स्रोतका अनुसार दाओजिन वाङ र दावा छिरिङको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ। छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटल भियना र उनको कम्पनीमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिश पुन साझेदार देखिएका थिए। छिरिङले नेपालमा सुन उत्खनन गर्न खोलेको एक कम्पनीमा अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिश पुन साझेदार छन्। प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, दीपेश पुन, प्रनिश पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाए पनि दीपेश पुनलाई मात्रै बोलाएर सोधपुछ गरेको थियो।

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादी केन्द्रका केही नेता–कार्यकर्तासँग सम्पर्क भए पनि उनीहरूलाई छाडिएको छ। राहुल महरालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सुन तस्करी प्रकरणमा सिआइबीले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव झलकमान अधिकारी, व्यवसायी भीमकान्त भण्डारीसँग सोधपुछ गरेको विषयलाई अनुसन्धान प्रतिवेदनमा उल्लेख गरे पनि प्रतिवादी भने बनाइएको छैन। हामीले गरेको अनुसन्धानबाट राजनीतिक तहको संरक्षणमा सुन तस्करी भएको देखिँदैन,’ सिआइबीका डिआइजी यज्ञविनोद पोखरेलले भने। संगठित अपराधको जालो केलाउने क्रममा उनीहरूको संलग्नता देखिएमा पछि पक्राउ पर्ने पनि डिआइजी पोखरेलको भनाइ थियो।

हालसम्मको अनुसन्धानका क्रममा नेपाली तथा विदेशी नागरिक गरी जम्मा ३२ पक्राउ परेका र रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाईछिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट यकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रूपैैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको’ सिआइबीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ।

बिस्कुटको आकार दिने थुप्तेन

तिब्बती मूलका भारती नागरिक दुवै समूहले थुप्तेन छिरिङले ली र लिनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे। यसका लागि टोखाको समूहले तीनवटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको थिए। लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो। यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने दावा जिङ र तोङ चिन हुवासमेत गरी पाँचजनाको समूहले गर्ने गरेको थियो। तस्करी गरेर ल्याइएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै टुंगो लगाएर पठाइने सिआइबीको दाबी छ।

अनुसन्धान अधिकृतहरूका अनुसार उनीहरूले सुन किन्नेलाई कोडका रूपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिने गरिएको दाबी गरिएको छ। त्यही कोडका आधारमा किशोर बस्नेत र समीर खरेलले भारतीय व्यक्तिलाई दिने गरेका थिए। सुनको भुक्तानी भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा पुग्ने गरेको थियो। सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पुर्‍याएका थिए। सुन किन्ने भारतीय व्यवसायी पनि छन् तर फरार रहेकाले प्रहरीले नाम खुलाएको छैन। सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिने गरेको देखिएको छ।

सात कम्पनी, १० थान सुन पगाल्ने मेसिन

सिआइबीले अनुसन्धानका क्रममा सुन तस्करीका लागि सातवटा कम्पनी खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुंगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलीप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्। यी कम्पनीहरूमार्फत सुन तस्करी भएको सिआइबीको प्रतिवेदनमा जनाइएको छ।

यसैगरी सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भिœयााएको सुन काठमाडौंका दुई स्थानमा गोप्य रूपमा गाल्दै आइएको थियो। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको सिआइबीको भनाइ छ। सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार तस्करहरूले टोखा नगरपालिका–२ र काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा तस्करीको सुन गाल्दै आएको फेला पारेको छ। ती स्थानबाट अम्खोरा, कचौराजस्ता भाँडा बनाई त्यसमा लुकाएर सुन भारत तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। भारतमा सुन तस्करी गर्न भारतीय महिलाहरूलाई प्रयोग गरिएको पनि खुलेको छ।

मुम्बई सुन पुर्‍याउने भारतीय नागरिक राकेश सिंह

बाराका सुनचाँदी व्यापारी शिव सर्राफ पक्राउ परेपछि उनले सुन मुम्बई जाने खुलाएका थिए। तस्करीको सुन दावा छिङिका मुख्य सहयोगी किशोर बस्नेत र सुमन खरेलले सीमासम्म पुर्‍याउने गरेको र त्यहाँबाट राकेश सिंह नाम गरेका व्यक्तिले मुम्बईमा पुर्‍याउने गरेको बताएका छन्।

सिआइबीले सिंहको पहिचान गरिसकेको भए पनि भारतमा रहेका कारण उनलाई पक्राउ गर्न सकेको छैन। सिआइबीका डिएसपी धर्म भण्डारीले भारतीय प्रहरीको सहयोगमा भारतबाट बस्नेत र खरेललाई पक्राउ गरी नेपाल ल्याएपछि सर्राफ समातिएका थिए। सर्राफले नै सिंहको नाम खुलाएका थिए।

यी हुन् पक्राउ परेका व्यक्तिहरू

हालसम्म रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थुप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मी, वेन तोङ, डिङ सेग्फा, ली–नेङकाइ, याओ पुचेङ, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल, शिव सर्राफ तथा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरू वीरेन्द्र नेपाली र कमल परियार पक्राउ परेका छन्। यीबाहेक तस्करी प्रकरणमा नाम मुछिएका दीपेश पुनलाई पनि बयान लिइएको थियो। उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। ९ किलो सुनमा जोडिएका र हाल सिआइबीको थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि बयान लिइसकेको छ।

उद्गमस्थल हङकङ

अनुसन्धानका क्रममा सिआइबीका एसएसपी दिनेश आचार्य हङकङ पुगेका थिए। त्यसक्रममा त्यहाँ चिनियाँ अधिकारीहरूसँगको सहकार्यमा उनले तस्करी भएको सुनको उद्गमस्थल हङकङ नै भएको पुष्टि गराएका थिए। उनले त्यहाँबाट पहिचान गरेका मुख्य व्यक्तिहरू चिनियाँ नागरिक ली र लिन हुन्। ली र लिनले नेतृत्व गरेको पाँचजनाको समूहले नै नेपालमा सुन तस्करी गराएको थियो। उनीहरूले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउने गरेको र पछिल्लो समय ब्रेक सुमा पठाउने गरेको खुलेको छ। क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाइएको सामानमार्फत नेपालमा सुन आएको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताएका थिए।

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादी केन्द्रका केही नेता–कार्यकर्तासँग सम्पर्क भए पनि उनीहरूलाई छाडिएको छ। राहुल महरालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

उनका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पुर्‍याउने कामको नेतृत्व तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङले गरेका थिए। पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार सुन लुकाएर ल्याउने सामानहरू आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा सातवटा कम्पनीमार्फत भएको थियो।

६० किलो सुन आयात गर्ने ब्रेक सु ल्याउने रेडी ट्रेड दिलीप भुलेजका नाममा खोलिएको थियो। कुमार भुजेलका नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलका नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङका नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीका नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलका नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो। ती सबै कम्पनी सुन ल्याउन खोलिएको सिआइबीले जनाएको छ।

उनका अनुसार हङकङबाट सुन पठाएको खबर ली र लिनले थुप्पेनलाई दिने गरेको हर्कराज राईले भन्सार जाँचपास गर्ने गरेको पाटपुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र बिस्कुटको आकार दिने काम पनि उनैले गर्ने गरेको सिआइबीले जनाएको छ। यसका लागि टोखा र लाजिम्पाटमा दुईवटा गोदाम थिए। टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेको सिआइबीका एसपी थापाले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०८० ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App