संविधानसभाको बैठक होस् वा व्यवस्थापिका संसद्। दुवै सभालाई निकै प्रभावकारी ढंगले सञ्चालन गरेका कारण मुलुकमा सबै तहका व्यक्तिले चिन्ने व्यक्ति थिए, सुवास नेम्वाङ। उनी अब भौतिक रूपमा नरहे पनि उनलाई चिन्ने जो कोहीले पनि भन्छन्, ‘हामीले उहाँलाई चिन्नु पर्दा माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु’ भन्ने थेगो सम्झना भइहाल्छ।
पहिलो संविधानसभामा ६ सय एकजना सांसद रहेको बैठक सञ्चालन गर्न निकै कठिन हुन्थ्यो। भर्खर द्वन्द्वबाट आएको माओवादीको पुनः युद्धमा जाने धङ्धङ्गी थियो भने मधेस आन्दोलनबाट आएको मधेसी जनअधिकार फोरमको पनि क्रियाकलाप पनि उस्तै थियो। विभिन्न विचारबाट आएका दलहरूलाई मिलाएर बैठक सञ्चालन गर्नु चानचुने कुरा थिएन। पहिलो संविधानसभाको दुई वर्षे कार्यकाल थपिँदै जाँदा सबैको ध्यान संविधानसभातर्फ थियो। संविधान नबन्ने संसद्मा सांसद बोल्न समय मागिरहने हुँदा सभाध्यक्ष नेम्वाङले सबैलाई बोल्नका लागि पर्याप्त समय दिन सक्दैनथे, त्यसैले उनले प्रायः तीन मिनेटको समय राखेर बोल्न दिन्थे। त्यसैलाई टेलिभिजनबाट आउने ‘मेरी बास्सै’ भन्ने हास्य शृंखलामा नेम्वाङको भूमिकामा पात्र खडा गरेर माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु भन्ने थेगो राखिएको थियो। त्यही थेगोका कारणले पनि नेम्वाङलाई त्यतिबेला बच्चादेखि वृद्धसम्म सबैले चिन्ने गरेका थिए।
सभाको बैठक सञ्चालनमा उठेका विवाद पनि ठट्यौली तरिकाले जवाफ दिने गरेका उनी पुनः स्थापित प्रतिनिधिसभादेखि दोस्रो संविधानसभासम्म चारपटक सभामुख र दुईपटक संविधानसभाको अध्यक्ष बन्दासमेत कसैलाई दिग्दार लागेको थिएन। सरल रूपमा बोल्ने उनको स्वभावले गर्दा पनि सत्तापक्ष र प्रतिपक्षले उनका धेरैजसो शैली मन पराउँथे।
सभाको बैठक सञ्चालनमा उठेका विवाद पनि ठट्यौली तरिकाले जवाफ दिने गरेका उनी पुनः स्थापित प्रतिनिधिसभादेखि दोस्रो संविधानसभासम्म चारपटक सभामुख र दुईपटक संविधानसभाको अध्यक्ष बन्दासमेत कसैलाई दिग्दार लागेको थिएन। सरल रूपमा बोल्ने उनको स्वभावले गर्दा पनि सत्तापक्ष र प्रतिपक्षले उनका धेरैजसो शैली मन पराउँथे।
मुख्यगरी पहिलो संविधानसभामा दलीय नियन्त्रणभन्दा माथि उठेर नेम्वाङले संविधान निर्माणमा निकै महत्वपूर्ण भूमिका खेलेका थिए। कानुनको ज्ञान भएकाले पनि उनले सदनमा भएका कामहरूलाई विधि र प्रक्रियाबाटै लैजाने कुरामा धेरै ध्यान दिएका थिए। उनले बैठकमा बोल्ने सांसदहरूले असंसदीय शब्द प्रयोग गरेमा उनले कसैबाट नियमापत्ति नभए पनि असंसदीय भन्दै रेकर्डबाट हटाएका छन्। सांसदले नियमापत्ति गर्न बिर्सिएमा पनि गलत कुराको संसदमा रेकर्ड नहोस् भन्नेमा उनी सचेत थिए।
पाँच वर्ष आठ महिना लगाएर संविधान बनेकोमा यसलाई गौरव गर्नुपर्ने उनले बताउने गर्थे। संविधानसभा इतिहासमा दुईपटक भएको केही पनि छैन भन्दै यो ‘फरक’ भएको उनले बताउँथे। पहिलो संविधानसभा र दोस्रो संविधानसभामा दुईपटक जनतामा सुझाव लिन लगाउने काम पनि सभाध्यक्ष नेम्वाङकै पहलमा भएको थियो। तर जीरा मरिच पोको पारेको ठाउँमा सुझाव भेटिन्छन् भन्ने कुरा बाहिर आएको भन्दै उनले दलहरूलाई सचेत बनाउन यो कुरा बताइरहन्थे। यो कुरा संविधानमा नै राख्यौं भनेर दलहरूलाई भन्न लगाउँथे।
२०६९ जेठ २ गतेको सहमति बमोजिम संविधान बन्ने कुरा बाहिर आएको थियो। बधाई सबैले खाएका थिए। तर अचाकन सहमति भाँडिएको कुरा उनले बताउँथे। २०६९ जेठ १६ गते संविधासभाको बैठक बोलाइएको थियो। तर, मध्येरातसम्म पनि बैठक नै नबसिकन पहिलो संविधानसभाको अवसान भयो। सुवास नेम्वाङलाई जानीजानी बैठक नै नबसालेको अरोप लगाइयो। सो दिन सभासदहरूले बैठक बस्न माग गर्दै संविधानसभा भवन परिसर नयाँ बानेश्वरमा नाराबाजी गरेका थिए।
जीरा मरिच पोको पारेको ठाउँमा सुझाव भेटिन्छन् भन्ने कुरा बाहिर आएको भन्दै उनले दलहरूलाई सचेत बनाउन यो कुरा बताइरहन्थे। यो कुरा संविधानमा नै राख्यौं भनेर दलहरूलाई भन्न लगाउँथे।
अन्तरिम संविधान–२०६३ ले व्यवस्था गरेको दुई वर्षको संविधान निर्माणको समयमा संविधान घोषणा हुन सकेन। २०६६ जेठ १० गतेदेखि १४ गते सम्मका चार दिन अन्योलपूर्ण रह्यो। जेठ १४ गते मध्यरातमा नेताहरू संविधानसभाको म्याद थप्न सहमत भए।
दुई वर्षभित्र संविधान तयार गरी जारी गर्ने म्यान्डेटका साथ निर्वाचित भएको संविधानसभालाई म्याद थपेर चार वर्षसम्म लम्बाइए पनि नेपालका राजनीतिक दलबीच संघीयताको बारेमा सहमति जुट्न नसकेपछि २०६९ जेठ १५ गतेबाट सर्वोच्च अदालतको फैसाला बमोजिम स्वतः विघटन भयो। संविधान घोषणा गर्ने दिन २०७२ असोज ३ गते ५ बजे राष्ट्रपति रामवरण यादवलाई संविधान घोषणाका लागि निम्ता गरिएको थियो। तर, राष्ट्रपति यादव ४५ मिनेट ढिला गरेका थिए। सो बीचमा धेरै प्रश्न उठेका थिए। ‘राष्ट्रपति नआउने सम्भावना बढी छ,’ नेम्वाङ भन्थे, ‘मलाई संविधान त बन्छ ? राष्ट्रपति ज्यू आउनुहुन्छ ? भन्ने प्रश्नको ओइरो लगाइयो।’ राष्ट्रपति संविधान जारी गर्न केही समय लिनुपर्ने भन्दै राष्ट्रपतिले संविधान जारी गर्न नआउने संकेत गरिरहेका थिए। राष्ट्रपतिको संकेतपछि सभाध्यक्ष नेम्वाङको पहलमा राष्ट्रपति नआए पनि सभाध्यक्षबाटै संविधान जारी गर्ने गरी प्रस्ताव पारित गरिएको थियो।
तर, राष्ट्रपति ४५ मिनेटपछि त्यहाँ आएर संविधान जारी गरेका थिए। नेम्वाङ भन्थे, ‘त्यो दिन राष्ट्रपतिले नै ४५ मिनेटपछि आउने खबर गर्नुभएको थियो, तर यो कुरा मलाई मात्र थाहा थियो, त्यसैले अरू आत्तिएका थिए। असोज ३ गतेलाई अझै बढाऔं समय अझै लम्बाऊँ भनिरहेका थिए। तर, त्यो दिन संविधान जारी नभएको भए, संविधान जारी हुने थिएन होला।’ ‘संविधानसभाबाट संविधान बनाउने र संविधान बन्न नदिनेबीच तानातानको अवस्था थियो। त्यो अगाडि बढ्दै गयो, दुई वर्षको म्याद थियो, तर थप्दैथप्दै चार वर्ष बनायौं। तर, चार वर्षमा पनि बनेन,’ नेम्वाङ भन्ने गर्थे। उनी भन्थे, ‘२०७२ असोज ३ गते संविधान घोषणा नहुँदासम्म निरन्तर शंका थियो।’
संसद र संसदीय समितिमा पत्रकार पदेन सदस्य हुन् भन्ने नेम्वाङले २०५६ मा सार्वजनिक लेखा समितिको बैठकमा पत्रकारलाई प्रवेश दिने पहिलो समिति बनाउने व्यक्तिसमेत हुन्। उनले त्यो चरित्र सभामुख हुँदा र संविधानसभाको अध्यक्ष हुँदासमेत देखिएको थियो। पत्रकारलाई एक घण्टाको समय तोकेर दैनिक भेटघाट गर्ने उनले गर्थे। संविधान निर्माणमा एक ढिक्का भएर लाग्नुपर्ने उनले सार्वजनिक रूपमा धेरैपटक बताउँदै आएका थिए। पहिलो संविधानसभामा ‘एक ढिक्का’ भन्ने थेगो उनले प्रयोग गरे। पत्रकारसँगको कुराकानीमा उनले अनौपचारिक कुराकानी बढी गर्थे, जसबाट घटनालाई थप अनुसन्धान गर्न सजिलो पथ्र्याे। प्रधानमन्त्रीसँगको भेट, राष्ट्रपतिसँगको भेट, शीर्ष नेतासँगको भेटमा भएका कुरा पत्रकारसमक्ष बताउने गरेका नेम्वाङ सबै मिडियामा उत्तिकै प्रिय थिए। जतिबेला पनि टेलिफोन उठाएर पत्रकारलाई खबर बताउने नेम्वाङ एमालेको संसदीय दलको उपनेता हुँदा पनि भन्ने गर्थे, ‘मेरो कार्यकक्षमा माननीय र पत्रकारलाई नसोधी प्रवेश गर्न अनुमति छ।’
प्रकाशित: २७ भाद्र २०८० ०१:१२ बुधबार