४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिको परिभाषा बदल्न रास्वपा उदाएको हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको बताएका छन्।

आफ्ना लागि र आफ्नाहरूका लागि रास्वपाले केही नगर्ने भन्दै उनले देशको हित, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नु र मुलुक र जनतालाई केन्द्रमा राखेर विकास र समृद्धिको अभियानलाई तीव्रता दिन अपरिहार्य रहेकोमा जोड दिए।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई बिहीबार सम्बोधन गर्दै लामिछानेले वर्षै सम्म देशलाई अनेकन् मुद्दामा विभाजित गराएर ‘मनी र मसल’ को सहारामा चुनाव जित्ने प्रणालीको अन्त्य हुनुपर्ने बताए।

अन्य दलहरूमा काठमाडौंमा बसेर ताप्लेजुङमा कसलाई जनप्रतिनिधिको रुपमा अघि सार्ने, कसलाई संगठनको जिम्मा दिने जस्ता विषय तय हुने गरेको भन्दै रास्वपाले अब त्यस्तो प्रणाली तोड्ने उनको भनाई थियो।

प्रदेश संसद् र सरकार आफ्ना असन्तुष्ट कार्यकर्ताको थामथुम गर्ने थलो भएको भन्दै लामिछानेले प्रदेश संरचना बारे रास्वपाको छुट्टै अडान र धारणा रहेको बताए। समावेशिता बिनाको समाज कल्पना भन्दा बाहिर रहेको भन्दै उनले समावेशी समाजको भित्रको विविधता जोगाएर सामाजिक सद्भाव र सहिष्णु व्यवहार आजको आवश्यकता रहेकोमा जोड दिए।

‘बहुसङ्ख्यक मानिसको चाहना, रुचि र अभिलाषा अनुसार नामाङ्कन हुनुपर्छ’ कोशी प्रदेशको नामाङ्कन बारे भइरहेको असन्तुष्टि र विवाद बारे लामिछाने संक्षिप्त मात्र बोले।

देशले अहिलेको राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै जनताको त्यो अभिलाषा रास्वपाले पूरा गर्ने उनको दाबी थियो। जनताले २०८४ को निर्वाचनमा रास्वपालाई मुलुककै पहिलो शक्तिको रुपमा उदाएको हेर्न चाहेको भन्दै उनले देशभर देखिएको जनलहरले त्यो संकेत गरेको बताए।

‘रास्वपामा १–२ जना छन् भन्नेहरुका लागि प्रतित्युत्तर सदन तपाँईहरुको यो उपस्थिति नै काफी छ’ उपस्थित मानिसहरुप्रति संकेत गर्दै उनले भने। पार्टी नेता तथा प्रतिनिधिसभाका सांसद डोलप्रसाद अर्याल, डाक्टर तोसिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाईँ सहितका नेताहरुले भने बुधबारै सम्बोधन गरेका थिए।

प्रकाशित: २१ भाद्र २०८० ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App