८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको चुनाव खर्च दुई करोड

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा झन्डै दुई करोड रुपैयाँ खर्च भएको जनाएको छ। कांग्रेसले निर्वाचन आयोगलाई बुझाउन तयार पारेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा १ करोड ९० लाख ३० हजार ७ सय ४१ रुपैयाँ खर्च भएको उल्लेख छ।

कांग्रेसले निर्वाचन आयोगलाई बुझाउन तयार पारेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा स्थानीय निर्वाचनमा १ करोड ९० लाख ३० हजार ७ सय ४१ रुपैयाँ खर्च भएको उल्लेख छ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि चन्दाबाट संकलन भएको १ करोड २४ लाख ७५ हजार रुपैयाँ र थप ६६ लाख खर्च देखाएको छ। ३ करोड ६ लाख ६९ हजार ७ सय रुपैयाँ आम्दानी देखाउँदै कांग्रेसले त्यसमध्ये २२ लाख ६० हजार २ सय ९४ रुपैयाँ ब्याजबाट आएको उल्लेख गरेको छ। त्यस्तै १ करोड ६० लाख ३४ हजार ४ सय रुपैयाँ कुन स्रोतबाट आम्दानी भयो भन्ने उसले खुलाएको छैन।

पार्टीको १३औं महाधिवेशनका लागि प्राप्त चन्दा र खर्च सार्वजनिक गर्ने घोषणा गरे पनि अहिलेसम्म त्यसको औपचारीक जानकारी नगराएको कांग्रेसले आयोगलाई बुझाउन तयार पारेको प्रतिवेदनमा ३ करोड २१ लाख ६० हजार ३ सय ७३ रुपैयाँ चन्दा संकलन भएको उल्लेख छ। महाधिवेशनमा गत आर्थिक वर्षमा ४ करोड ३२ लाख ९ हजार ८ सय र पछिल्लो वर्ष १ लाख ३९ हजार २ सय रुपैयाँ खर्च भएको उसले जनाएको छ।

गत वर्षको तुलनामा ३ करोड रुपैयाँ कम खर्च उसले देखाएको छ। अघिल्लो वर्ष ८ करोड ३७ लाख ३८ हजार ८ सय ९ रुपैयाँ खर्च देखाएको कांग्रेसले यसपटक भने ५ करोड ८ लाख ५० हजार रुपैयाँमात्र खर्च भएको प्रतिवेदनमा देखाएको छ।

कर्मचारीका लागि ६४ लाख ७८ हजार ४ सय रुपैयाँ खर्च देखाएको कांग्रेसले साधारण तथा प्रशासनिक खर्च भने ८३ लाख ६१ हजार ४ सय ४१ रुपैयाँ भएको जनाएको छ। भ्रातृ संगठनको महाधिवेशनमा  १ करोड २४ लाख ८९ हजार २ सय ५५ रुपैयाँ खर्च भएको कांग्रेसले उल्लेख गरेको छ। गएको आर्थिक वर्ष कांग्रेसका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको महाधिवेशन भएको थियो।

१ करोड ६० लाख ५७ हजार २ सय ७ रुपैयाँ नगद मौज्दात देखाएको उसले ६ करोड ८५ लाखबराबरको स्थिर सम्पत्ति रहेको जनाएको छ। मुद्दती निक्षेपमा ४ करोड ७५ लाख रुपैयाँ देखाएको कांग्रेससँग ६ करोड ३५ लाखभन्दा बढी नगद मैज्दात छ। चालू सम्पत्ति ७८ लाख २९ हजार रहेकेा उल्लेख गर्दै उसले १ करोड ७९ लाख ४७ हजार २ सय ३१ रुपैयाँ दायित्व (ऋण) देखाएको छ, जुन गत वर्र्ष  १ करोड २३ लाख ५० हजार ७ सय ४४ रुपैयाँमात्र थियो।

पार्टीले आर्थिक वर्ष २०७३/७४ को खर्च र आम्दानीको विवरण आइतबार निर्वाचन आयोगमा बुझाउने कांग्रेस केन्द्रीय कार्यालयका लेखाप्रमुख रविन बज्राचार्यले जानकारी दिए । 'आजै (शुक्रबार) नै बुझाउने गरी तयारी गरे पनि समय अभावले सकिएन,' उनले भने, 'आर्थिक प्रतिवेदन तयार छ। आइतबार निर्वाचन आयोगमा पेस गर्छाैं।'

पार्टी सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सीतादेवी यादव, मुख्यसचिव कृष्णप्रसाद पौडेल र सहसचिव एवं लेखाप्रमुख रविन बज्राचार्यको हस्ताक्षरसहितको आर्थिक प्रतिवेदन आयोगमा बुझाउन कांग्रेसले तयार गरेको छ।

प्रकाशित: १० भाद्र २०७४ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App