४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

पारिश्रमिक जति बिरामी र अशक्तलाई बाँड्दै यी गाउँपालिका अध्यक्ष

उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर।

उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले आफूले पारिश्रमिकबाट पाउने रकम बिरामी तथा अशक्त जनतालाई बाँड्ने गरेका छन्। २०८० सालको स्थानीय तह चुनावमा भोट माग्दा निर्वाचित भए गाउँपालिकाबाट कुनै सेवासुविधा नलिने घोषणा गरेका मगरले वाचा गरेअनुसार आपूmले पाएको सेवासुविधावापतको रकम विभिन्न बिरामी तथा गरिब असहायलाई वितरण गरेका हुन्।  

गत सोमबार अध्यक्ष मगरले गृहनगर रौतामाई ७ मुर्कचीमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान’अन्तर्गत आयोजित अभिमुखीकरणमा आफ्नो पारिश्रमिक रकम हस्तान्तरण गरे। माओवादीको रौतामाई गाउँ पार्टी कमिटी अध्यक्षसमेत रहेका अध्यक्ष मगरले रौतामाई २ की बिरामी कृष्टि दाहाललाई उपचारार्थ ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार र शेरबहादुर विकलाई ५ हजार वितरण गरे।  

१६ वर्षीया दाहाल गत वर्ष घरमै करेन्ट लागेर हात गुमाउनुपर्दा अपाङ्ग हुन पुगेकी थिइन्। आर्थिक अवस्था कमजोर भएकी मुटुरोगी अजितालाई उपचार गर्न खर्च अभाव भएको तथा विक आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सक्दो सहयोग गरेको उनले बताए। विपन्न परिवारका विक उपचार खर्च अभावकै कारण छोरो गुमाउन परेपछि विक्षिप्त अवस्थामा छन्। अध्यक्ष मगरले दिएको सहयोग रकम कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रियसभामा प्रमुख सचेतक गोपी अछामीले संयुक्त रूपमा हस्तान्तरण गरे।  

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले चुनावी अभियानमा भोट माग्दै जाँदा जनतासँग गरेको वाचाअनुसार आपूmले पाएको पारिश्रमिक गाउँपालिकाकै बिरामी, अशक्त तथा विपन्नलाई सहयोग गरेको बताए। सेवानिवृत्त पूर्व शिक्षक मगरले नियमानुसार अध्यक्षले गाउँपालिकाबाट पाउने सेवासुविधावापतको रकम यसरी नै बिरामी र अशक्तलाई सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाए। वितरण गरेर बाँकी रहेको रकम अन्य सामाजिक कार्यमा खर्च गर्ने उनले बताए।  

राष्ट्रियसभा सदस्य अछामीले माओवादी सरकार गठन भएदेखि एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै अपराधीलाई कानुनी कारबाही गर्न थालेपछि प्रतिपक्षी दल आत्तिएर लगातार संसद् अवरोध गर्दै आएको बताए। उनले सत्तापक्षका राम्रा काममा प्रतिपक्षीले सहयोग गर्नेगरी रचनात्मक भूमिका खेल्नुपर्नेमा उल्टै निरन्तर बाधा र अवरोध खडा गरेर जनविरोधी गतिविधिलाई बढावा दिँदै आएको कुरा जनताले नजिकबाट नियालिरहेको बताए। 

प्रकाशित: १५ भाद्र २०८० ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App