७ वैशाख २०८१ शुक्रबार
राजनीति

फ्लाइओभर र मोनोरेललाई ललितपुरको लालमोहर

ललितपुर– ललितपुर महानगरपालिकाको पहिलो नगरसभाले पुल्चोकदेखि थापाथलीको बागमती पुलसम्म फ्लाइओभर र नगरमा मोनोरेल निर्माण प्रक्रिया थाल्ने भएको छ।

महानगरको जेठ २२ को बोर्ड निर्णयमा रहेको फ्लाइओभर निर्माण र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसँग मंगलबारको भेटपछिको सहमति अनुसार मोनोरेलको निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय नीति तथा कार्यक्रममा समेटिएको हो। कार्यक्रममा सहरी आवागमनलाई सहज र सर्वसाधारणको पहुँच पु¥याउन स्थानीय निकायको सहकार्यमा परियोजना अघि बढाउने उल्लेख छ।

महानगरले निर्माण गर्ने फ्लाइओभरको दूरी एक किलोमिटर चार सय मिटर हुनेछ । रातो मछिन्द्रनाथको जात्रा चल्ने सडक बाहेकका सडक खण्डमा फ्लाई ओभर निर्माण हुनेछ । दातृ निकायको सहयोगमा फ्लाइ ओभर निर्माण प्रक्रिया अघि बढाइने छ । फ्लाइओभरको लागि करिब १३ अर्ब लाग्ने अनुमान छ ।

यसअघि सरकारले बबरमहल–त्रिपुरेश्वर  फ्लाइओभरको सम्भाव्यता अध्ययनमा प्रतिकिलोमिटर ९ अर्बलाग्ने अनुमान गरिएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गरेको अध्ययनमा उक्त रकमको प्रारम्भिक अनुमान भएको हो ।

त्रिपुरेश्वर–माइतीघर–बबरमहलसम्मको फ्लाइओभर निर्माणको गृहकार्य गरिरहेको काठमाडौं महानगरले जाइकासहित अन्य दातृ निकायसँग सहकार्यको  पहल गरिरहेको छ । जाइकाले नै त्रिपुरेश्वरलाई जक्कसन बनाएर पुल्चोकसम्म फलाइओभर निर्माणका लागि ललितपुर महानगरले विशेष आग्रहको तयारीलाई नीतिमै समेटिएको हो ।

नगरसभामा आफ्नो आठ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चिरीबाबु महर्जनले ट्राफिक जामको समस्या भएका बालकुमारी, ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर इन्टरसेक्सनको अवधारणामा समेत कार्य भइरहेको जानकारी नगरसभालाई गराए । उनले भर्टिकल पार्किङका साथै यातायातको सहज पहुँचका लागि महानगरले नीति तथा कार्यक्रम बनाएको बताए ।

महानगरले सेवा प्रवाहमा सुधार, दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रबद्र्धनको नीति लिएको छ । साथै, संस्कृति पुनर्निर्माण र संरक्षण, पर्यटन विकास तथा नगरस्तरीय वडालाई विकासको केन्द्र बनाउन पनि पहल थाल्नेछ भने वातावरण, बाल, लैंगिक समानता तथा सामाजिक समावेशी मुद्दालाई पनि आफ्नो कार्यक्रममा समावेश गरेको छ ।

कार्यक्रममा बोल्दै मेयर महर्जनले नगर यातायात गुरूयोजनाका आधारमा सडक, ढल तथा अन्य शहरी पूर्वाधार निर्माणलाई समन्वयन गर्ने बताए । ‘सडकले बनाउँछ, खानेपानीले भत्काउँछ । टेलिफोनदेखि अन्य प्रयोजनका लागि नबन्दै भत्काउने र बनाउने दीर्घरोगको अन्त्यका लागि पहल गर्नेछौं, लाइन एजेन्सीले महानगरको समन्वयनमा काम गर्नेछन,’ मेयर महर्जनले भने ।

आर्थिक वर्ष २०७४÷०७५ का लागि महानगरको ३ अर्ब २२ करोड ९१ लाखको बजेट प्रस्तुत गर्दै उनले ‘ललितपुर नगर स्वस्थ्य समुन्नत सांस्कृतिक नगर’ निर्माणका लागि नगरसभाबाटै नीति तथा कार्यक्रम ल्याइएको पनि बताए । महानगरले चालूतर्फ ४३ करोड १२ लाख ८७ हजार र पुँजीगत तर्फ दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार प्रस्ताव गरेको हो । महानगरले आन्तरिक स्रोतबाट एक अर्ब २२ करोड ४४ लाख  ४४ लाख उठाउने प्रक्षेपण गरेको हो ।

महानगरले सम्पदा तथा साँस्कृतिक संरक्षण तथा पर्यटन नीति अन्र्तगत नगरभित्र रहेका आदिवासी, जनजाती तथा पिछडा वर्गको भाषा, लिपी, बाजागाजा र संस्कृति प्रर्बद्धनका लागि सम्बन्धित पक्षसँगै सहकार्य गर्ने नीति बनाएको हो ।

कालोपत्रे डेढ इन्च हुनैपर्ने

ललितपुर महानगरभित्र निर्माण हुने कालोपत्रे अबदेखि डेढ इन्च मोटाइको हुनैपर्ने व्यवस्था महानगरले गरेको छ । महानगरको पहिलो नगरसभाले कालोपत्रे निर्माणको एकवर्ष पनि आयु नहुने समस्याको समाधानका लागि नीति बनाएको हो । यस अन्र्तगत सडक निर्माण भएको एक वर्षसम्म धरौटी रकम महानगरमै जम्मा हुनेछ । एकवर्षपछि महानगरले सर्वेक्षण गरी सडकको अवस्था पछि धरौटी रकम फुकुवा गर्नेछ ।

मेयर महर्जनले चिरीबाबुले वर्षेनी हुने कालोपत्रेको आयु एक वर्ष नहुनुको समाधानका लागि नीति ल्याएको बताए । उनले ठेकेदारले आफ्नो कार्य पूर्ण गरेपछि पनि एक वर्ष स्तरको मापनका लागि पर्खनुपर्ने बताए। ‘एकवर्ष पछि मात्र धरौटी फिर्ता हुन्छ, बिग्रिएमा मर्मतसम्भार ठेकेदारले नै गर्नु पर्नेछ,’ उनले भने ।

वडालाई विकास बजेट ५० लाख

महानगरले आफ्ना २९ वटै वडाको समान विकास तथा पूर्वाधार निर्माणका लागि नगर स्तरीय वडालाई विकासको केन्द्रबिन्दु बनाउने नीति अन्र्तगत ५० लाख विकास बजेट उपलब्ध गराउने भएको छ । उक्त बजेट अघिल्लो बजेटको तुलनामा दुईदेखि चार गुणा बढी हो ।

वडाले पाउने बजेट बाहेकको यो बजेट वडाका आवश्यक भौतिक पूर्वाधार निर्माण र विकासका लागि खर्च गरिनेछ । महानगरले सकेसम्म दिगो निर्माणमा बजेट खर्च गर्न मार्गनिर्देश गर्नेछ ।

डाटा बैंकको स्थापना

महानगरले राख्ने घरजग्गा लगत, व्यक्तिगत विवरण, नक्सा र अन्य सरकारी प्रयोजनका सबै आधिकारिक कागज पत्रलाई डिजिटलाइज गरिनेछ । महानगरसँग रहेका सबै विवरण सहितका कागजपत्रको सुरक्षा तथा कार्यसम्पादन छरितो बनाउन डाटा बैंकको स्थापना पनि गरिने  भएको छ ।

महानगरको पहिलो नगरसभाले विद्युतिय नक्सापासलाई प्रभावकारी बनाउँदै सबै वडाले सेवा दिनसक्ने प्रविधिको प्रयोग गर्ने घोषणा पनि गरेको छ ।

शंखमूलमा विद्युतिय शवदाह गृह

महानगरले शंखमूलमा विद्युतिय शवदाह गृह निर्माण गर्ने भएको छ । शंखमूल घाटमा यथासक्य चाँडो विद्युतिय शवदाह गृह निर्माणका लागि आवश्यक पहल गर्ने भएको हो ।

बुङमती र गोदावरीमा साझा बस

बुङमति र गोदावरीसम्म साझ बसको सञ्जाल स्थापनाका लागि महानगरले सम्झौता गरेको छ । मेयर महर्जनले साझा बसको एक करोड रुपैयाँको शेयर महानगरले खरिद गरेको जानकारी पनि नगरसभालाई गराएका थिए ।

देशकै सबैभन्दा जेठो नगरपालिका ललितपुरलाई गत चैत्र १ गते महानगर घोषणा गरिएको थियो । ९९ वर्ष अघि विस १९७५ मा छेमदल अड्डाको रूपमा हालको नगरपालिका स्थापित भएको थियो ।

प्रकाशित: १ श्रावण २०७४ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App