७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

निरन्तर ओरालोमा महराको ‘शालीनता’

प्रतिनिधि सभाका सभामुखको कार्यकालमा लागेको यौन दुराचारको मुद्दाले गुमेको ‘शालीन नेता’को ‘साख’ पुनः फर्काउन चाहेका माओवादी नेता कृष्णबहादुर महराका लागि गत निर्वाचन अग्निपरीक्षा थियो, तर उनी सो परीक्षामा सहभागी भएनन्। माओवादीको पहिलो रोजाइका सम्भावित उम्मेदवार महराले आफूलाई आम नागरिकसामु पहिलेजसरी ‘आँखा जुधाउन’ सक्ने ल्याकत राखेनन्। दाङ– २ मा दोस्रो विकल्पमा रहेकी रेखा शर्मालाई उम्मेदवार बन्ने ‘सुनौलो अवसर’ प्राप्त भयो।  

यौन दुराचारको मुद्दाले ओरालो लागेका महराको शालीनता ‘कम ब्याक’भएन, बरु थप ओरालो यात्रामा कुद्ने सम्भावित खतरा छ। पहिलेको मुद्दाको ‘तुष’मेटिन नपाउँदै सुन प्रकरणमा नाम जोडिनुले ‘महरा–शालीनता’ले थप ओरालो यात्रा तय गर्ने देखिन्छ।

२०६४ मा दाङकी कांग्रेस नेतृ अनिता देवकोटालाई पहिलो संविधान सभा निर्वाचनमा पराजित गरेसँगै रोल्पाका महराको उँचो राजनीतिक कदको रेखांकन भयो। उनलाई त्यो बेला दाङका सम्भावित एक मात्रै शीर्ष नेताका रूपमा विश्लेषण गरियो। माओवादी राजनीतिमा प्रभाव राख्न सकेका महरालाई कतिपयले त्यो बेला दाङको ‘आवश्यकता’का रूपमा समेत अथ्र्याइयो। दोस्रो संविधान सभा निर्वाचन २०७० मा महरा दाङमै टिकेनन्। उनी आफ्नो गृहजिल्ला रोल्पा हानिए। विजयी पनि बने।

निर्वाचनका लागि दाङबाट रोल्पा फट्को मारेका महराका लागि अघिल्लो प्रतिनिधि सभा निर्वाचन रोल्पा अनुकुल बनिदिएन। उनलाई फेरि दाङ झर्नुपर्ने बाध्यता आइलाग्यो। त्यो बेला रोल्पाका अर्का नेता वर्षमान पुनले महरालाई टिक्न दिएनन्। महरालाई दाङ झारेर पुनले रोल्पाको टिकट आफ्नो हातमा पारेका थिए। ०७४ को निर्वाचनमा एमालेसँगको तालमेलको बलमा प्रतिनिधिसभा सदस्य चुनिएका महराको प्रतिनिधि सभा यात्रा सुखद बनेन। प्रतिनिधिसभा सभामुखको ‘ओहोदा’ मा पुगेका महरा यौन दुराचारजस्तो गम्भीर मुद्दामा मुछिए। संसद् सचिवालयकी एक कर्मचारीले महराविरुद्ध बलात्कार मुद्दा दर्ता गरेपछि महराको सभामुख पद मात्रै खोसिएन; उनको राजनीतिक यात्रा एकाएक ओरालो लाग्यो। भलै महराले यो मुद्दामा सफाइ त पाए, तर सक्रिय राजनीति ‘शिथिल’ बन्दै गयो। कार्यकर्ता पंक्तिसामु ‘निराश’ देखिने महराले आफूलाई पहिलाजस्तो ‘भद्र’ नेताका रूपमा प्रस्तुत गर्न सहज मान्दै मानेनन्। यो मुद्दाले शिथिल बनेका महरा गत निर्वाचनमा भिड्ने वा नभिड्ने भन्नेमा अनिश्चित देखिए। अन्ततः अन्तिम निर्णय लिए, ‘निर्वाचन लड्दैन।’

‘महरा सर गत निर्वाचनमा नलड्नुको कारण उहाँमाथि लागेको आरोप वा मुद्दा प्रभाव नै हो’,एक वाम विश्लेषक भन्छन्, ‘उहाँमा चुनाव जित्छु भन्ने आत्मविश्वास नै भएन।’महराले आफ्नो जनमत बुझ्ने माध्यम गत स्थानीय तहको निर्वाचनलाई बनाएका थिए। आफ्नो क्षेत्र दाङ २ मा रहेको ठूलो स्थानीय तह घोराही उपमहानगरको जनमत बुझ्न खोजेका उनले यहाँको मेयर पदको उम्मेदवार आफू निकटस्थ नेता हेमराज शर्मालाई बनाए। उनले प्राप्त गर्ने जनमतका आधारमा आफ्नो उम्मेदवारी रहने वा नरहने भन्ने निक्र्योल गर्नेमा महरा थिए। यो स्थानीय तहमा आफू निकटस्थ शर्मा पराजित बने, त्यो पनि वर्तमान गठबन्धन कायमै रहेको अवस्थामा। एकाएक निर्वाचनबाट भाग्दा कार्यकर्ता पंक्तिमा राम्रो सन्देश नजाने देखेका महराले आफू निर्वाचन लड्ने उद्घोष भने गरि नै रहे।

गत निर्वाचनमा आफूलाई फेस गर्न डराएका महराले आफूलाई पार्टी राजनीतिमा मात्रै केन्द्रित गर्ने बताए पनि अहिलेको सुन प्रकरण उनको मार्गमा अर्को वाधक बन्ने खतरा देखिन्छ। ‘आम निर्वाचन मात्रै हैन, यस्ता ठूला घटनामा नाम मुछिएपछि पार्टी आन्तरिक राजनीतिमा पनि असर पर्छ नि’,ती वाम विश्लेषकले भने, ‘पार्टीभित्र पनि त व्यक्तिगत छवि र आचरणका कुरा जोडिन्छन् नि।’सुन प्रकरणमा आफूमाथि लागेको आरोपको खण्डन भने महराले गरिसकेका छन्। सुन प्रकरणमा आफ्नो र छोराको नाम जोडिएकोमा आपत्ति जनाएका महराले छानबिनका लागि सहयोग गर्नेसमेत उल्लेख गरेका छन्। यो प्रकरणका बारेमा सरकारले गर्ने अनुसन्धानले दोषी प्रमाणित हुने वा नहुने एउटा पाटो भयो, तर लागेको आरोपले मात्रै पनि राजनीतिक जीवनमा ठूलो प्रभाव पार्ने तर्क ती वाम विश्लेषकको छ। 

प्रकाशित: २० श्रावण २०८० ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App