२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीमा सरकार बनाउन परालको खुट्टा लगाएर नहिँडौँ: किराँती

इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा मन्त्री किराँती। तस्बिर: भीम/नागरिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले कोशी प्रदेशको सरकार दलहरूबीचको सहमतिमा बनाउनुपर्ने बताएका छन्। 

उनले एक–एक जनालाई रिझाएर बहुमत पुर्‍याउनुभन्दा दलहरूले आलोपालो सहमतिमा सरकारको नेतृत्व गर्नु उपयुक्त हुने धारणा राखे।

सूर्योदय नगरपालिकाको फिक्कलमा नगरको चालु वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मन्त्री किराँतीले कोशी सरकार संवैधानिक संकटमा रहेकाले सरकार बनाउने खेलोफड्को चलिरहेको बताए।

‘म चाहिँ भन्छु, परालको खुट्टा लगाएर नहिँडौँ। ‘कहिलेसम्म खिचातानी गर्ने हो ? आज एउटा सदस्यलाई यता ल्याउँला, भोलि अलि ठुलो पद अर्काले दियो भने उतै जाला र सरकार फेरि ढल्छ,’ उनले भने, ‘चुनावमा जान आर्थिक संकट छ, जनताले अस्थिरता भयो भनिरहेका छन्। बरु सबैले आलोपालो सरकार चलाउनु ठिक छ।’

मन्त्री किराँतीले जनतामा अविश्वास पैदा गराउन नहुने भन्दै दलहरू नमिली कुनै सफलतामा नपुगिने इतिहास रहेको बताए।

‘राणा शासन मिलेरै फालियो, पञ्चायत पनि मिलेरै फालियो, राजा फाल्न त सबै नमिली हुँदै भएन,’ उनले भने, ‘संविधान पनि मिलेरै बनाइयो तर त्यहाँ एउटा त्रुटि भएछ, यसरी मिलेर यत्रा संकटको सामना गरेका दलले देश र जनतालाई शिरमा राखेर १० वर्ष चाहिँ नबाझौँ, प्रतिपक्ष नबसौँ भनेर किन त्यो संविधानमा नलेखिएको होला !’

उनले राष्ट्रिय सहमतिमा जानसमेत आवश्यक रहेको बताए। ‘एक युगमा नेता एक चोटि जन्मिन्छ, अरू व्यवस्थापक हुन्छन्,’ उनले भने, ‘पुष्पलाल र बिपीका सपना अझै पूरा हुन नसकेको हामीले बिर्सिनुहुँदैन।’

प्रकाशित: १५ श्रावण २०८० १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App