१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विधेयक ल्यायो भनेर राजीनामा मागियो, साथीहरुलाई ठाउँ चाहिएको भए पद छोड्न तयार छुः धनराज गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन्।

उनले आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताएका हुन्।

सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रस्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने बताए। उनले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भएपनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गरे। उनले विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिवद्धता जनाए।

उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताए। उनले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गरे।

उनले भने, ‘केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकको सन्दर्भमा कुरा उठेको छ। संसदमा पनि जोडदार ढंगबाट नै उठेको थियो। धारा ६४ को सन्दर्भमा निकै जोडदार ढंगबाट कुरा उठ्यो। चामलको बोरा लिएर गइसकेपछि चामलको बोरा फुकाउँदा चामलको बोराभित्र चामलमात्रै हुन्छ भनेर भनिदिन भएन। हाम्रो उद्देश्य चामल मात्रै होस् भन्ने हो, तर चामलको बोरा फुकाउँदा दुई चार वटा बियाँहरु पनि हुन्छन्। अलिअलि भुस पनि हुन्छ। त्यसैले स्वाट्टै तालमा खन्याएर पकाउन मिल्दैन। यत्ति कुरा त बुझिदिनप¥यो नि त। फेरि नाङ्लोमा हालेर निफन्ने, छान्ने, केलाउने गरेर भुसलाई फाल्नुपर्छ। चामलमात्रै राख्छौँ। त्यसपछि बल्ल पकाउन ताउलोमा राख्छाँै। धनराज गुरुङलाई यस्तो नठानिदिनुस्, कृपया गरेर नेता साथीहरुले की भात खाँदा गाँसमा ढुंगा प¥यो भने धनराज त्यत्ति लाटो छैन की ढुंगासँगको गाँस सुलुक्क निलिहाल्छ यसले। यो नठान्नुस्, ढुंगा परेको छ भने गाँस फाल्छ। मैले सरकारको भरिया भएर संसदमा विधेयकको भारी बोकेको हो। साथीहरुलाई भाग पाउँदा खालि गरिदिए भन्ने साथीहरुको छ भने तयार छु, केही छैन, पद भनेको आउँछ जान्छ, धनराजको लागि पद आशक्ति भइरहनुपर्छ भन्ने छैन।’

प्रकाशित: ८ श्रावण २०८० १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App