२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालका जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगाे पार्टी स्तब्ध भएको जनाएको छ।

पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएका छन्। उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको सम्झिदै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन्। उनले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगाे पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाल लगायत सिंगो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौं।’

माओवादीका सल्लाहकार दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा अध्यक्ष दाहालसँग विवाह भएको थियो।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिए। पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय थिइन्।

जनयुद्धका समयमा सिंगाे पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। पछिल्लो समय उनी पार्किन्सन लगायत रोगबाट पीडित थिइन्।

चितवनको भरतपुर महानगरपालिका-१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ। छोरी रेनु र गंगा राजनीतिमै सक्रिय छन्। सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ। 

प्रकाशित: २७ असार २०८० ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App