६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अझै तय भएन अजेन्डा

एक वर्षपछि कांग्रेस बैठक

फाइल तस्वीर

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ। मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपनि त्यसको समिक्षा गर्न आवश्यक नठानेको कांग्रेसले बल्ल चुनावी समिक्षासहित आन्तरिक विषयमा छलफलमा जुट्न लागेको हो।

पार्टी विधानले प्रत्यक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था गरेको छ। तर, केन्द्रीय समिति बसेको ठिक १ वर्षपछि कांग्रेसको अर्को केन्द्रीय समिति बैठकको बोलाइएको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ सम्म केन्द्रीय समितिको बैठक बसेको थियो। त्यस यता कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। तर, मंगलबार साँझसम्म केन्द्रीय समितिको बैठक किन, केका लागि बोलाइएको हो र के के विषयमा छलफल हुन्छ भन्नेमा केन्द्रीय सदस्यहरू नै अन्योलमा छन्।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ।

केन्द्रीय सदस्यहरूलाई बैठकको अजेन्डाबारे जानकारी नगराइएको केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन्। ‘केन्द्रीय समितिको बैठक भनिएको छ, त्यसका अजेन्डाका विषयमा कुनै जानकारी छैन,’ उनले भनिन्,‘के के विषयमा छलफल हुन्छ र गर्ने भनेर पनि निकटताका आधारमा छलफल भएको छैन।’

पार्टी संगठनलाई थप चलायमान र गतिशिल बनाउन नयाँ ढंगबाट योजना र कार्यक्रम बनाउने पर्ने आवश्यकता रहेको बताउँदै गौतम भन्छिन्,‘बैठक बस्नका लागि बस्ने भन्दा त्यसले नयाँ कार्यक्रम र आशा जगाउन सक्नुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले पार्टी पदाधिकारीले केन्द्रीय समितिको अजेन्डा तय गरेर बैठकमा पेस गर्ने जानकारी दिए। त्यसका लागि सभापति देउवासहितका पदाधिकारी छलफलमा रहेको जानकारी दिंदै विकले भने, ‘नीति महाधिवेशन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा, क्रियाशील सदस्यताका साथै समसामयीक बैठकका अजेन्डा हुन्।’

विधानले नीति महाधिवेशन भन्ने व्यवस्था नगरेको स्वीकार गर्दै विकले महासमिति बैठकलाई नीति महाधिवेशनकारूपमा परिणत गर्ने विषयमा छलफल चलिरहेको बताए। ‘महाधिवेशन बाहेक पार्टीको नीति तथा कार्यक्रमहरूका विषयमा महासमितिमा छलफल गर्ने र निर्णय लिने निकाय हो,’ उनले भने, ‘त्यस विषयमा पनि बैठकले निर्णय लिनेछ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्दा परिणाम राम्रो आए पनि कांग्रेसभित्रको भित्रको आन्तरिक किचलोका कारण पार्टी संगठन भने निष्क्रियप्रायः छन्। महाधिवेशन भएको डेढ वर्षमा विधानअनुसार गर्नु पर्ने कुनै पनि कार्यसम्पादन कांग्रेसले गर्न सकेको छैन।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले पार्टी पदाधिकारीले केन्द्रीय समितिको अजेन्डा तय गरेर बैठकमा पेस गर्ने जानकारी दिए।

संवैधानिक सीमालाई छोप्न १४औं महाधिवेशनबाट कांग्रेसले नेतृत्व मात्र चयन गरेको थियो। नीतिविनाको नेतृत्व चयन गरेको भन्दै हुने आलोचनालाई ढाकछोप गर्न कांग्रेसले विधानको व्यवस्था विपरित नीति महाधिवेशन गर्ने जनाएको थियो। तर, अहिले कांग्रेसमा पार्टीले लिने नीतिका विषयमा कुनै छलफल हुँदैन। बरु नेता र नेतृत्वकै विषयमा कांग्रेसका वडादेखि केन्द्रसम्मका नेताहरूको ध्यान केन्द्रित भएको छ।

विधान अनुसारका संगठनलाई पूर्णता दिने र संगठनलाई चलायनमान बनाउन सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको मात्र होइन इतर पक्षको पनि ध्यान पुगेको छैन। जसले गर्दा पार्टीको कुनै पनि निकायले पूर्णता पाउन सकेको छैन। पार्टी विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान, अनुशासन समिति, प्रचारसहितका केहीबाहेकका विभाग गठन गर्ने र नेता तथा कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्य नेताहरूको प्राथमिकतामा परेको छैन।

२०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघसहित कार्यकाल सकिएका केन्द्रीय समिति भंग गरिएको थियो। तर अहिलेसम्म अधिकांश भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

विधान अनुसारका संगठनलाई पूर्णता दिने र संगठनलाई चलायनमान बनाउन सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको मात्र होइन इतर पक्षको पनि ध्यान पुगेको छैन।

त्यसले कांग्रेसभित्र चरम असन्तुष्टि बढ्दै गएको छ भने पार्टीका जिम्मेवार नेताहरू नै विधान विपरितका गतिविधिमा सक्रिय भएका छन्। बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू उक्त मुद्दालाई संगठित रूपमा उठाउने तयारीमा छन्। त्यसको संकेत गर्दै यसअघि नै पार्टी प्रचार विभागले पार्टीको विधि र विधान बाहिर गएर नेतृत्वको आलोचना नगर्न तथा कुनै पनि गतिविधि नगर्न नेता तथा कार्यक्रमलाई निर्देशन जारी गरिसकेको छ।

प्रकाशित: २७ असार २०८० ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App