९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन कार्यालय स्थापना आज

काठमाडौं- निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ।

दोस्रो चरणमा निर्वाचन हुने चार सय ६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको आयोगले जनाएको छ।

आयोगले दोस्रो चरणअन्तर्गत निर्वाचन हुन लागेका चार सय ६१ स्थानीय तहमध्ये चार सय २० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ भने ४१ जिल्लाका सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन अधिकृतको काम गर्नेछ। निर्वाचन हुन लागेका ४१ जिल्ला सदरमुकाममा जेठ ६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले सोमबारदेखि दोस्रो चरणअन्तर्गतका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्ने बताए। 'अब सोमबार दोस्रो चरणअन्तर्गत निर्वाचन हुने स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचन तयारीको काम सुरु हुन्छ,' दाहालले नागरिकसँग भने, 'जिल्ला सदरमुकाम रहेको स्थानीय तहको काम भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ।' निर्वाचन तयारीका लागि सरकारले उपसचिवलाई निर्वाचन अधिकृत र जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

यसअघि सरकारले एकै चरणमा वैशाख ३१ गते निर्वाचन गर्ने भन्दै देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरी कार्यालय खोले पनि पछि दुई चरणमा गर्ने निर्णयसँगै दोस्रो चरणमा हुने निर्वाचनका लागि कार्यालय खोल्ने काम स्थगित गरेको थियो।

निर्वाचन आयुक्त दाहालले अब निर्वाचनको तयारी अघि बढ्ने बताए। 'कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ,' दाहालले भने।

दोस्रो चरणको निर्वाचन तयारी अघि बढिरहेका बेला गत साता सरकारले २२ स्थानीय तह थप र केहीको स्तरोन्नति गर्ने निर्णयसँगै कुनलाई आधार मानेर चुनावी तयारी अघि बढाउने भन्ने अन्योल भइरहेका बेला आयोगले पुरानै संरचनालाई आधार मानेर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो। स्थानीय तह थप्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश दिएपछि पुरानैलाई आधार मानेर दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो। आयुक्त दाहालले पुरानै संख्याका आधारमा निर्वाचन तयारी अघि बढिरहेको र सोहीअनुसार जेठ ३१ गते निर्वाचन हुने बताए।

मतदाता परिचयपत्र २८ गतेदेखि

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जेठ २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। आयोगले मतदान गर्ने ९० लाख ९७ हजार ५ सय ५७ मतदाताको परिचयपत्र तयार पारी सम्बन्धित जिल्ला पठाइसकेको छ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पहिलो चरणमा झैं दोस्रो चरणमा पनि मतदाता परिचयपत्र अनिवार्य हुने बताए। 'दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिनेछ,' शर्माले भने, 'मतदाता आफैं मतदान केन्द्रमा उपस्थित भई मतदाता परिचयपत्र लिन सक्ने व्यवस्था गरिएको छ। आफैं उपस्थित हुन नसक्ने अवस्थामा परिवारको सदस्य हो भन्ने यकिन भएपछि परिवारका सदस्यले मतदाता परिचयपत्र बुझिलिन सक्नेछन्।'

शर्माले मतदाता शिक्षा थप प्रभावकारी बनाउन २७, २८ र २९ गते मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदाता परिचयपत्र लिन आउने मतदातालाई सही तरिकाले मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाइएको जानकारी दिए। त्यसका लागि नमुना मतपत्रको व्यवस्था गरिएको र नमुना मतपत्रमै मत संकेत गर्ने तरिका सिकाइने आयोगले जनाएको छ। मतदातालाई सक्कली मतपत्रबारे अग्रिम जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिने शर्माले बताए।

प्रकाशित: १५ जेष्ठ २०७४ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App