२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सभामुखले शीर्ष नेतालाई साेधेः चुनाव गर भन्नुहुन्छ की सहमति गर्नुहुन्छ ?

शिर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ। मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन्। 

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए। उनले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताए।  

उनले भने, ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशिल, स्तरीय बनाउने भन्नेबारेमा छलफल भयो। त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भने। त्यसको लागि हो। मुलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो। उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए। उहाँले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए।

उनले भने, ‘शिर्ष नेताहरुको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरुको नेतृत्व जुन खालि भएर बसेको छ, त्यसमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको छ । राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो ।’ मन्त्री गुरुङले बैठकमा कोशी प्रदेशको नेतृत्वको बारेमा पनि छलफल भएको बताए।

प्रकाशित: १९ असार २०८० ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App