१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशी प्रदेश: राप्रपासमेतको समर्थनमा कांग्रेस

 सत्तारूढ राजनीतिक दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतलाई साथ लिएर नेपाली कांग्रेस नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन गर्ने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको गठबन्धन दलको बैठकले कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी गरेको हो।

बैठकमा आआफ्नो संसदीय दलमा छलफल गरेर थापाको नेतृत्वमा सरकार गठनका लागि निर्णय लिने समझदारी पनि बनेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ‘हामी गठबन्धनमा भएका दलहरूका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न प्रदेशका पार्टी निकायहरूलाई सल्लाह दिने निर्णय भएको छ,’ बैठकपछि पत्रकारहरूसँग उनले भने।

गठबन्धनमा रहेका राजनीतिक दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने विषयमा छलफल भए पनि राप्रपासँगको छलफलपछि मात्र थापा नेतृत्वको सरकारको कार्यकालबारे टुंगो लाग्ने बैठक स्रोतको दाबी छ। गठबन्धनको बैठकले राप्रपासँग संवादको जिम्मा कांग्रेसलाई दिएको जनाउँदै सहभागी एक नेताले भने, ‘त्यसपछि मात्र कार्यकालसहितका विषयमा टुंगो लाग्नेछ।

सत्ता गठबन्धनको बैठकअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी प्रदेश सरकार गठनका विषयमा छलफल भएको स्रोतको दाबी छ। त्यसक्रममा लिङ्देनले आफूहरू अस्थिरताको कारक नबन्ने दाबी गर्दै कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जाने अवस्था आउन नदिने आश्वासन देउवालाई दिएको बताइएको छ। राप्रपाले कांग्रेस नेतृत्वमा प्रदेश सरकार गठनका लागि सकारात्मक संकेत गरेको स्रोतको दाबी छ।

यद्यपि राप्रपा आफैंले प्रदेश सरकारको नेतृत्व दाबी गरेको र देउवासँगको भेटमा विभिन्न विकल्पका विषयमा छलफल भएको जनाइएको छ। राप्रपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने, महत्वपूर्ण मन्त्रालय आफूले पाउनुपर्ने, सहमति हुन नसके विश्वासको मत दिने तर सरकारमा सहभागी नहुनेलगायत विकल्प अघि सारेको स्रोतको दाबी छ। ‘एमालेको चाहना कोसी प्रदेशलाई मध्यावधिमै लैजाने देखिए पनि हामी त्यसको पक्षमा छैनौ भन्नेमै उहाँ (राप्रपा) का नेताहरूको कुरा छ,’ निकट स्रोतले भन्यो, ‘कसरी मिलाएर अघि बढ्ने भन्नेमा थप छलफल गरेर टुंगोमा पुग्छौं।’राप्रपासँग कुरा गर्ने जिम्मेवारी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ।  

पुस १० गते भएको सहमतिअनुसार राप्रपा केन्द्रदेखि प्रदेशसम्म सरकारको हिस्सेदार बन्दै आएको थियो। तर पूर्वसहमतिविपरीत माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससहितका दलहरूको पुरानो गठबन्धनमा फर्केपछि राप्रपा सरकारबाट अलग भएको थियो। राप्रपा भने एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा भने अन्तिम समयसम्म सहभागी थियो। कांग्रेस र माओवादी केन्द्रभन्दा एमालेसँग राप्रपा केही लचिलो देखिँदै आएको छ। ‘हामी अस्थिरताको पक्षमा छैनौं,’ राप्रपाका एक नेताले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि हामी सकारात्मक छौं।’ कोशी प्रदेशमा एमाले नेतृत्व सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्। ९३ सदस्य कोशी प्रदेशमा सत्ता गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एक गरी ४७ सांसद छन् भने एमाले र राप्रपाका गरी ४६ सांसद छन्।

यसैबीच, सत्ता गठबन्धनको बैठकले केन्द्र सरकारमा जनमत पार्टीलाई सहभागी गराउने निर्णय पनि गरेको छ। आफूले खोजेको मन्त्रालय नपाएपछि रुष्ट बन्दै सरकारबाट बाहिरिएको जनमतलाई मनाउँदै गठबन्धनका दलहरूले सरकारमा फिर्ता ल्याउने समझदारी गरेका हुन्। जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि आफ्नो दल तत्काल सरकारमा सहभागी हुन तयार रहेको जानकारी दिए।

प्रकाशित: १९ असार २०८० ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App