काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणाम सोचेजस्तो नआएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको बैठकले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआएको ठहर गरेको हो ।
महामन्त्री शशांक कोइरालाले पहिलो चरण निर्वाचन परिणाम अपेक्षित नभएकाले दोस्रो चरणमा प्रभावकारी ढंगले पार्टी प्रस्तुत हुने बताए । ‘अहिलेसम्मको नतिजा मिश्रित छ,’ कोइरालाले पत्रकारसँग भने, ‘जति हामीले सोचेका थियौं त्यति राम्रो आएन, यद्यपि अन्तिम परिणाम आउन बाँकी छ ।’
बैठकमा नेता रामचन्द्र पौडेलसहितका नेताहरूले पार्टीका परम्परागत मतदाताबाहेक नयाँलाई आफ्नो पक्षमा पार्न नसकेको बताएका थिए । नयाँ पुस्ता र सचेत मतदातालाई आफ्नो पक्षमा ल्याउन पार्टी चुकेको उनको भनाइ थियो ।
नेता पौडेलले सामाजिक प्रतिष्ठा कमाएका र परम्परागत मतदाताका कारण पार्टीले अहिलेको परिणाम ल्याएको तर्क गरेका थिए । ‘एमाले र माओवादीमा सामाजिक प्रतिष्ठा आर्जन गरेका व्यक्ति नभएकाले कांग्रेस अहिलेको अवस्थामा रहेको हो,’ पौडेललाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सचेत र सहरी क्षेत्रका मतदाता हाम्रो पक्षमा कम देखिनु चिन्ताको कुरा हो।’
बैठकले दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ भित्र उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ ।
नेता ज्ञानेन्द्रबहादुर कार्कीले जतिसक्दो छिटो उम्मेदवारी छनोट गरेर पार्टी स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जुट्ने बताए । बैठकमा पूर्वसहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ८ गते प्रधानमन्त्रीबाट राजीनामा गर्ने तयारी गरेको नेताहरुले जानकारी गराएका थिए । बैठकले वर्तमान नयाँ बन्ने सरकारले संविधान संशोधन, दोस्रो चरणको स्थानीय तह निर्वाचनका साथै प्रदेश र केन्द्रको निर्वाचनमा एकताबद्ध भएर लाग्ने निष्कर्ष निकालेको छ ।
प्रकाशित: ५ जेष्ठ २०७४ ०३:४४ शुक्रबार